बेनी नगरको पुँजीगत खर्च २९ प्रतिशत

  • १० चैत्र २०७९, शुक्रबार
  • धिरन खत्री
  • 267 पटक पढिएको

 

म्याग्दी, १० चैत । बेनी नगरपालकाले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो चौमासिकसम्म पुँजीगत खर्च २९.७९ प्रतिशत गरेको छ । चालु आवको फागुनसम्ममा नगरले विकासतर्फ रहेको २९ करोड ३६ लाख ३८ हजार रुपैयाँ बजेटमध्ये ८ करोड ७४ लाख ४५ हजार रुपैया खर्च गरेको छ ।

नगरको चालु आवको दोस्रो चौमासिकसम्म भएका गरेका विकास निर्माण तथा सेवा प्रवाह विषयमा वडानम्वर ६ को वडा कार्यालयमा भएको सार्वजनिक सुनुवाईमा दोस्रो चौमासिकसम्म कुल बजेटको ४२.२९ प्रतिशत बजेट खर्च भएको प्रमुख प्रशासकिय अधिकृत धोलकराज ढकालले प्रतिवेदनमा उल्लेख गर्नुभएको छ। नगरको कुल बजेट ७८ करोड ८५ लाख ७५ हजार रुपैयाँ छ । त्यस्तै चालुतर्फ ४६.८९ प्रतिशत बजेट खर्च गरेको छ। चालुतर्फ रहेको ४९ करोड ४९ लाख ३६ हजार रुपैयाँ बजेटमध्ये २३ करोड २० लाख ८९ हजार रुपैयाँ खर्च भएको छ ।
यस बर्ष नगरले ४ करोड २३ लाख ७० हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य मध्ये दोस्रो चौमासिकसम्म २ करोड ४२ लाख ९९ हजार ४ सय ६३ रुपैयाँ संकलन गरेको छ।


फागुनसम्म पूर्वाधारतर्फ २२ प्रतिशत प्रगति छ । पुर्वाधारतर्फ १७ करोड ६८ लाख ८५ हजार रुपैयाँ बजेटमध्यै ३ करोड ८९ लाख ४७ हजार रुपैयाँ बजेट खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । ३४२ योजनामध्ये १२ वटा योजना बोलपत्रबाट निर्माण प्रक्रिया अघि बढाईएको प्रमुख प्रशासकिय अधिकृत ढकालले बताउनुभयो । चालु आवमा ११३ योजना सम्झौता भई ११२ वटा योजनाको अन्तिम भुक्तानीको प्रक्रियामा छन भने एक सय ५ वटा योजना सम्झौता हुने प्रक्रियामा रहेको प्रतिवेदन छ।


उक्त सार्वजनिक सुनुवाईमा उपस्थित नगरबासीले जनताका गुनासा सुन्ने तर जनप्रतिनिधि र कर्मचारीले कार्यान्वयनमा ध्यान नदिएको गुनासो राख्नुभएको थियो । नगरबासीले उठाएका जिज्ञाशाको जवाफ बेनी नगरपालिका मेयर सुरत केसी, उपमेयर ज्योती लामिछाने र प्रमुख प्रशासकिय अधिकृत ढकाल, वडानम्वर ६ का वडाअध्यक्ष कृष्णसिङ बानियाँ र उपस्थित जनप्रतिनिधि र कर्मचारीले दिनुभएको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l