पर्यटकीय गन्तव्य बन्दै रत्नेचौर

  • ८ चैत्र २०७९, बुधबार
  • धिरन खत्री
  • 313 पटक पढिएको

 

म्याग्दी, ८ चैत । बेनी नगरपालिका–१ रत्नेचौर पर्यटनको गन्तव्य बन्दै गएको छ । चारैतिर हरियाली पहाड, उत्तरतर्फ मनमोहक धवलागिरि र नीलगिरि हिमाल, बीचमा समथर फाँट, बुढो पोखरी, लामो झोलुंगे पुल, कालोपत्रे सडक र ग्रामीण बस्तीले चिटिक्क बनेको रत्नेचौर । पछिल्लो समय पर्यटकको गन्तव्य रूपमा विकसित हुँदै आएको छ ।


परम्परागत शैलीका घर, पृष्ठभूमिमा देखिने धौलागिरि हिमाल, समथर भूगोल, कालोपत्रे सडक र त्यसको दायाँबायाँ फाँटमा गहुँको हरियाली र माघ र फागुनमा फुल्ने तोरीखेती, लामो झोलुंगे पुलले पर्यटकको आगमन बढाएको स्थानीय बालकुमार कार्कीले बताउनुभयो । यहाँबाट पर्यटकीयस्थल पञ्चकोटसहित बागलुङ र पर्वतका दर्जनौ बस्तीको दृष्यावलोकन गर्न सकिने उहाँले भन्नुभयो ।


रत्नेचौर गाउँको तोरीबारीमा रमाउन माघ र फागुनमा बागलुङ, पर्वत र बेनीलगायत क्षेत्रबाट आन्तरिक पर्यटक आउने गरेका छन् । रत्नेचौरदेखि बागलुङको कुडुले जोडने गरी निर्माण भएको नयाँ झोलुंगे पुलले थप आन्तरिक तथा बाह्य पर्यटक बढाएको छ । बेनी–बागलुङ सडकखण्डको बीचमा पर्ने रत्नेचौर बागलुङ, पर्वत र म्याग्दीको संगमको रूपमा चिनिन्छ ।


लामो झोलुंगे पुलले चिनिएको यस क्षेत्रमा पर्यटकको बसाइ लम्ब्याउने पूर्वाधार, सेवासुविधा थप र विकास निर्माणलाई रत्नेचौरबासी लागेका छन् । भारतका चर्चित गुरु अनन्तश्री विभूषित त्रिदण्डी श्रीमन्नारायाण स्वामिजीले रत्नेचौरमा रहेको परम बैद्धिक सनातन धार्मिक आश्रम श्री लक्ष्मीहरि नारायण मन्दिरमा मुक्तिनाथ दर्शन गरे फर्कने क्रममा दर्शन गरेका थिए ।


स्वामीजीको भ्रमणले मन्दिरको गरिमा बढ्नुका साथै पर्यटकीय क्षेत्रको रूपमा विकसित हुँदै गएको रत्नेचौरमा धार्मिक पर्यटक बढाउन सहयोग पुग्ने अपेक्षा लक्ष्मीनारायण मन्दिरका महासचिव कृष्णबहादुर बोगटीले गर्नुभएको छ। करिब पाँच सय घरधुरी रहेको रत्नेचौरलाई कृषि र पर्यटनको हवको रूपमा विकसित गर्न मौलिक घरहरूको संरक्षण, होटल तथा रेस्टुराँ सुविधा विस्तार र स्थानीय कलासंस्कृति र मौलिकतालाई बचाई राख्नुपर्ने देखिन्छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l