८२ जना मोतिया विन्दुको शल्यक्रिया, आँखा देख्नेभएपछि बृद्धबृद्धा खुशी

  • ८ चैत्र २०७९, बुधबार
  • धिरन खत्री
  • 257 पटक पढिएको

 

बेनी, ८ चैत । आफन्त सहयोगमा शिविरमा उपस्थित भएका बेनी नगरपालिका– २ खबराका दलबहादुर खड्का शल्यक्रिया पश्चात स्पष्ट आँखा देख्ने भएपछि खुशी भएका छन् । उमेर ८४ बर्ष पुगेका खड्काले पहिल्य आँखाले मधुरो देख्नुहुन्थ्यो । डाक्टरले आँखाको शल्यक्रिया गरेपछि स्पष्ट रुपमा आँखा देख्ने भएको खड्काले बताउनुभयो । शरिर अशक्त त्यसैमा आँखा नदेख्ने बेनी नगरपालिका– ९ घतानका करिव ६० बर्षका चाउरे भनेर चिनिने ब्यक्तिले आँखा देख्ने भएपछि डाक्टर समक्ष गित गाउनेसंगै नाचेर देखाउनुभयो ।

यस्तै खुशी शल्यक्रिया प्रश्चात एकले अर्कालाई स्पष्ट आँखा देख्नेभएपछि बृद्धबृद्धाको अनुहारमा देखिन्थ्यो । बेनी अस्पतालमा चैत ५ गतेदेखि ७ गतेसम्म संचालन भएको शिविरमा ८२ जना मोतियाविन्दुको शल्यक्रिया गरिएको नेत्र ज्योती संघ म्याग्दीका सभापति अमरबहादुर बानियाँले बताउनुभयो । धेरै मोतियाविन्दु बृद्धबृद्धामा देखिएको छ। मोतियाविन्दु भेटिएका सबैको शल्यक्रिया शिविरमा गरिएको उहाँले भन्नुभयो ।


नेत्र ज्योती संघ म्याग्दीको आयोजना र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक र माईकल बाउर एण्ड फ्रेण्ड, बाडेन बाडेन जर्मनीको आर्थिक सहयोगमा सम्पन्न शिविरबाट आठ सय ६९ जनाको आँखाको परिक्षण गरिएको नेत्र ज्योती संघ म्याग्दीका नेत्र अधिकृत दिनेश बानियाँले जानकारी दिनुभयो । गाउँगाउँमा नेत्र ज्योती संघले आयोजना गरेको शिविरबाट भेटिएका मोतियाविन्दुको शल्यक्रिया पनि यस शिविरमा गरिएको थियो ।

शिविरमा हिमालय आँखा अस्पताल पोखरबाट ६ जनासहित ८ जनाको प्राविधिक टोलीले आँखा परिक्षण र मोतियाविन्दुको शल्यक्रिया गर्नुभएको थियो । नेत्र ज्योती संघले शिविर सम्पन्न गराउन सहयोग गर्नुहुने प्राविधिक टोली र सहयोग दातालाई सम्मान गर्नुभएको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l