बेनी बजार क्षेत्रको अनावश्यक तारहरु हटाउन सुरु

  • ७ चैत्र २०७९, मंगलवार
  • धिरन खत्री
  • 540 पटक पढिएको

 

म्याग्दी, ७ चैत । बेनी नगरपालिकाले बेनी बजारलाई ब्यवस्थित बनाउने अभियान सुरु गरेको छ। बेनी नगरले नेपाल विद्युत प्राधिकरण र विभिन्न केवल तथा इन्टरनेट प्रदाय संस्थासंग समन्वय गरेर बजार क्षेत्रका विजुली पोलको अनावश्यक तारहरु हटाउने अभियान सुरु गरेको हो ।


विद्युत प्राधिरकणकै मापदण्ड विपरीत अस्तव्यस्त तानिएका तारहरुले बजारको सौन्दर्य कुरुप बनेको र दुर्घटनाको जोखिम समेत बढेको पाइएपछि सेवा प्रदायक संघसंस्थाकै सहमतिमा मंगलबार देखि बजार क्षेत्रको बालमन्दिर चोकबाट तारहरुको ब्यवस्थापन गराउने काम सुरु गरिएको नगर प्रमुख सुरत केसीले बताउनुभयो ।

बेनी नगरपालिकाले वडानम्वर ७ र ८ वडाको बजार क्षेत्रमा रहेका विद्युतका पोलहरुका अब्यवस्थित विभिन्न इन्टरनेट तथा केवल प्रदायक संस्थाका तारहरु १५ दिनभित्र हटाउने अभियानसहित नगरप्रहरीको नेतृत्वमा सुरु गरिएको छ । अव्यवस्थित रूपमा बिजुलीको पोल नै नदेखिने गरी विभिन्न प्रकारका तार राख्दा विद्युत् अवरोध हुने र बजार अस्तब्यस्त देखिएपछि सराकारवालाहरु र प्राधिकरण केवल, इन्टरनेट संस्थाहरको छलफल पछि हटाउने अभियान थालिएको नगर प्रमुख केसीले जानकारी दिनुभयो ।


पोलका अब्यवस्थित तारहरु हटाउन केवल, इन्टरनेट प्रदायक संस्थाका प्रतिनिधिहरु र नगरप्रहरी र तार ब्यवस्थापन गर्ने तीन जनाको प्राविधिक टोली खटिएको छ । वडानम्वर ७ र ८ का वडाअध्यक्षको संयोजकत्वमा हटाउने अभियानमा समन्वय गर्नुहुने छ ।

सागुरो बजारभित्रका विद्युतको पोलमा नेपाल विद्युत, नेपाल टेलिकम, पब्लिक भिजन, ओल्ड लिङ्ग, माईन टेक, पिटेक म्याग्दी टेड्रस, म्याग्दी काली र वाभ सर्भर लगायतले सेवाग्राहीको मागलाई मध्यनजर गर्दै जथाभावि तार टाकेपछि संस्थाका प्रतिनिधिहरुको उपस्थितमा ब्यवस्थापनको काम अघि बढाईएको नगर प्रहरीका हल्लार शंकर पौडेलले बताउनुभयो ।


विद्युतका पोलबाट तानिएका यस्ता तारहरु कतै लत्रिएको, कतै पोलमा अस्वभनीय गुजुल्टा परेको देखिएकाले व्यवस्थित गर्न वडाअध्यक्षको संयोजकमा समन्वय गर्दै अभियान अघि बढाईएको छ। पछिल्लो समय बेनी नगरले सार्वजनिकस्थलका अब्यवस्थित संरचनाका पूर्वाधारको ब्यवस्थापनलाई निरन्तरता दिएको छ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l