मंगला शिक्षा क्याम्पसमा अनेरास्ववियूको प्यानल विजयी

  • ५ चैत्र २०७९, आईतवार
  • 331 पटक पढिएको

 

म्याग्दी, ५ चैत्र ्म्याग्दीका बावियाँचोरमा रहेको मंगला शिक्षा क्याम्पसमा अनेरास्ववियुको प्यानल नै वियजी भएको छ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका भिममायाँ रोका नेतृत्वको प्यानल नै विजयी भएको हो ।

रोकाले १ सय ३० मत प्राप्त गरिन भने नेपाल विद्यार्थी संघका गौरव आचार्यले १५ मत पाएका छन् । त्यस्तै सचिवमा अनेरास्ववियूका रविन शाहीले १३० मत र कोषाध्यक्षमा तारा रानाले १२६ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अनेरास्ववियुबाट सदस्यहरुमा मेघबहादुर घर्ती (१३२), विन्दा रोका (१३५), सजिना सुबेदी (१३५), किशोरी फगामी (१३४), यूमायाँ दर्जी (१३२) पाएर विजयी भएको निर्वाचन अधिकृत बलबहादुर कार्कीले बताए ।


जम्मा २१२ मतदाता रहेको क्याम्पसमा १४३ मत खसेको थियो । निर्वाचन नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीले भने बाहिस्कार गरेको थियो । समानुपातिकमा १२ मत प्राप्त गरेको नेपाल विद्यार्थी संघले स्वतन्त्र विद्यार्थी युनियनमा एउटा स्थान पाउने उनले बताए । मतदान बिहान ८ बजेबाट शुरु भएको र ४ बजे सम्म १४३ जनाले मतदान गरेका थिए ।

मंगला शिक्षा क्याम्पसमा प्रत्यक्षतर्फ नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले सबै ८ पदमा उम्मेदवारी दर्ता गराएको थियो । प्रत्यक्षतर्फ सबै पद अनेरास्ववियुले हात पारेको भए पनि समानुपातिकमा भने एउटा सीट नेबिसंघले प्राप्त गर्नेभएको छ । यसैबीच नवनिर्वाचित स्ववियू अध्यक्ष रोकाले चुनाव पछिको यात्रामा सबै विद्यार्थी संगै हुने बताईन् । उनले चुनाव एक प्रक्रिया भएपनि सहकार्य र सहमतिबाटै अगाडी बढ्ने प्रतिबद्धता जनाईन् । पश्चिम क्षेत्रको शैक्षिक धरोहर मानिएको क्याम्पसले क्यूएए प्राप्तीको अभियानमा स्ववियूमार्फत काम गर्ने प्रमुख लक्ष्यमा सघाउने नवनिर्वाचित अध्यक्ष रोकाको भनाई थियो ।

बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको (स्ववियु) निर्वाचन स्थगित छे छ । क्याम्पस प्रशासनले चैत १ गते सूचना जारी गर्दै चैत ५ गते हुने निर्वाचन स्थगित गरेकोे थियो । स्ववियु निर्वाचनलाई लिएर विद्यार्थी संघ संगठनहरु बीच विवाद भएपछि क्याम्पस प्रशासनले अर्को सूचना जारी नभए सम्मका लागि निर्वाचनका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरेको थियो ।