बेनीमा नि:शुल्क मोतिया विन्दु शल्यक्रिया शिविर सुरु

  • ५ चैत्र २०७९, आईतवार
  • 345 पटक पढिएको

 

म्याग्दी, ५ चैत । बेनीमा आँखाको नि:शुल्क मोतिया विन्दु शल्यक्रिया शिविर सुरु भएको छ। बेनी अस्पतालमा संचालित तीन दिनसम्मको शिविरमा गाउँ–गाउँमा आयोजना गरिएका शिविरबाट भेटिएका मोतियाविन्दु विरामीको नि:शुल्क शल्यक्रिया गरिने छ ।

नेत्र ज्योती संघ म्याग्दीको आयोजना र हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा संचालन गरिएको शिविरको शुभारम्भ जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले गर्नुभएको थियो । मोतियाविन्दु पहिचान भएका ४७ जनाको नि:शुल्क शल्यक्रिया र नयाँ आँखाका विरामीहरुको परिक्षणा गरिने नेत्र ज्योती संघ म्याग्दीका सभापति अम्मरबहादुर बानियाँले बताउनुभयो ।

गाउँ– गाउँमा अन्धोपन निवारण अभियान अन्तरगत आयोजना गरिएका शिविरबाट पहिचान भएका मोतियाविन्दुको विरामीलाई लक्षित गरी शिविर राखिएको संघले जनाएको छ। शिविरमा नयाँ आँखाका विरामीको परिक्षण, औषधी वितरण र मोतिया विन्दु विरामीको अप्ररेसन गरिने छ । हिमालय आँखा अस्पतालबाट १२ जनाको प्राविधिक टोली शिविरमा आएको सभापति बानियाँले जानकारी दिनुभयो ।


जिल्लामा मोतियाविन्दु, जलविन्दु र ४० कटेपछि आँखा नदेख्ने समस्याका विरामी पछिल्लो समय बढेको नेत्र अधिकृत दिनेश बानिायाँले बताउनुभयो ‘जिल्लाभित्र आँखाका समस्या भएका विरामीको संख्या बढ्दै गएको छ । यसको निराकरण र दृष्टि गुमाउने समस्या न्यूनिकरण गर्नका लागि स्थानीय तहको वडास्तर र विद्यालयस्तरमा शिविर आवश्यक देखिएको छ ।’ यसतर्फ सरोकारवालाहरुको ध्यान दिनुपर्ने देखिन्छ ।

नेत्र ज्योती संघका सभापति बानियाँका अध्यक्षता र सचिव राजेन्द्रकुमार श्रेष्ठको संचालनमा भएको उद्घाटन कार्यक्रममा बेनी नगरपालिका मेयर सुरत केसी लगायतको उपस्थित भएको थियो ।