बेनी–जोमसोम सडक दैनिक पाँच घण्टा बन्द

  • २ चैत्र २०७९, बिहीबार
  • 329 पटक पढिएको

 

म्याग्दी, २ चैत । बेनी–जोमसोम सडक दैनिक ५ घण्टा बन्द हुँने भएको छ । कालिगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाको समन्वयमा जिल्ला प्रशासन कार्यालय म्याग्दीले चैत्र ३ गते शुक्रबारदेखि लागु हुँने गरी बेनी–जोमसोम ७६ किमी सडकमा दैनिक ५ घण्टा टाईमकार्ड लागु गरेको हो ।

म्याग्दी प्रशासनले सूचना प्रकाशित गर्दै बेनी–जोमसोम सडक समय तालिका लागु गरिएको जनाएको छ । बेनी–जोमसोम सडकको प्याकेज नम्बर २ अन्तर्गत पर्ने अन्नपूर्ण गाउँपालिका–३ रुप्से सडक खण्डमा बेलीब्रिजसहित पहिरो रोकथामको कार्य भईरहेको र सडक विस्तार एवं स्तरोन्नतिका काम भईरहेकोले शुक्रबार बिहान ६ बजेदेखि ९ बजे सम्म र दिउँसो १ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द निर्णय गरेको म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिए ।

बेनी–जोमसोम सडक चैत्र ३ गतेदेखि चैत्र १४ गतेसम्म बन्द गरिएको हो । तर, चैत्र ६,७ र ८ गते ३ दिन भने सडक बन्द नहुँने सूचनामा उल्लेख गरिएको छ ।रुप्से खोलामा आएको बाढीले आयोजनाद्धारा निर्माणधिन पक्की पुल बाढी बगाएको थियो । त्यहाँ पुल नहुँदा सडक आउजाउमा समस्या थियो । आयोजनाले सो स्थानमा अस्थायी बेलिब्रिज स्थान्तरण गर्न लागेको छ ।

आयोजनाले पुल स्थान्तरणसहित करिव ३ सय मिटर सडकको एप्रोजसहितको काम गर्न ३ करोड ५९ लाखमा ठेक्का सम्झौता गरेको थियो । त्यहाँ मुक्तिनाथ निर्माण सेवाले सडकको काम गरिरहेको छ ।