बेनीमा चैत ५, ६ र ७ गते नि:शुल्क मोतिया विन्दु शल्यक्रिया शिविर हुने

  • २ चैत्र २०७९, बिहीबार
  • 415 पटक पढिएको

 

म्याग्दी, २ चैत । नेत्र ज्योती संघ म्याग्दीको आयोजनामा चैत ५ गतेदेखि ७ गतेसम्म बेनी अस्पतालमा नि:शुल्क मोतिया विन्दु शल्यक्रिया शिविर हुने भएको छ। स्थानीय तहमा गरिएको शिविरबाट मोतियाविन्दू पहिचान भएका ४७ जनाको नि:शुल्क शल्यक्रिया गरिने नेत्र ज्योती संघ म्याग्दीका सभापति अम्मरबहादुर बानियाँले बताउनुभयो ।

नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा म्याग्दीको आयोजना, हिमालय आँखा अस्पताल पोखराको प्राबिधिक सहयोग र बेनी अस्पतालको समन्वयमा तीनदिनसम्म संचालन हुने शिविरमा मोतियाविन्दुको शल्यक्रिया र आँखा परिक्षण लगायतको सेवाहरु प्रदान गरिने सभापति बानियाँले जानकारी दिनुभयो ।

फागुन महिनामा विभिन्न ठाउँमा आयोजना गरिएको शिविरबाट रघुगंगा गाउँपालिका–६ पाखापानीमा जना, मंगला गाउँपालिका– १ कँुहुमा ५ जना, बंरजामा ४ जना, अन्नपूर्ण गाउँपलिका– ५ शिखमा ६ जना, हिस्तानमा ६ जना र राम्चेमा ५ जना गरी ३१ ज्नाको मोतियाविन्दु पहिचान भएको थियो । त्यस्तै संघ र मोना अष्ट्रेलियाको समन्वयमा असोज २९, ३० र ३१ मा आयोजना गरिएको शिविरबाट भगवतीमा १० जना र पोखरेबगरमा ६ जना गरी १६ जना पहिचान भएको संघका सचिव राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

विभिन्न ठाउँमा आयोजना गरिएका आखा शिविरले गाउँ–गाउँमा मोतियाविन्दु, जलविन्दु र ४० बर्ष कटेपछि आँखा कमजोर हुदै जाने समस्या बढी देखिएको संघका नेत्र अधिकृत दिनेश बानियाँले बताउनुभयो । जिल्लामा पछिल्लो समय आँखाका समस्याका विरामी बढेका छन् । यीनीहरुलाई निराकरण र समस्या पहिचान गरेर दृष्टि गुमाउन नदिन आखाँ रोगसम्वन्धी जानकारी र बचाउने उपायहरु सिकाउनका लागि शिविरहरु आवश्यक देखिएको अधिृकत बानियाँले भन्नुभयो । पछिल्लो समय म्याग्दीमा आँखामा जलविन्दुको समस्या भएका पहिचान बढ्दै गएकोले यसलाई न्यूनिकरण गर्नका लागि स्थानीय तह, जनप्रतिनिधि, विभिन्न संघसंस्था र सरोकारावालाहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

गाउँगाउँमा विभिन्न समयमा राखिएको नि:शुल्क आँखा शिबिरबाट पहिचान भएका मोतियाबिन्दुको सल्यक्रिया र मोतियाविन्दु, जलविन्दु लगायतको रोगहरुको नयाँ विरामी पहिचान गर्नका लागि शिविर बेनी अस्पतालमा राखिएको बानियाँले बताउनुभयो ।