बेनीमा चार बर्ष यताकै धेरै परिमाणको लागूऔषध बरामद

  • २५ फाल्गुन २०७९, बिहीबार
  • 531 पटक पढिएको

बेनी, २५ फागुन । म्याग्दी सदरमुकाम बेनीमा चार बर्ष यताकै धेरै परिमाणको लागूऔषध बरामद भएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सदरमुकाम बेनी स्थित कालीपुलबाट दुई सय एम्पुल डाईजापाम, फेनेरागन दुई सय एक एम्पुल र नुर्फिन दुई सय एम्पुल सहित दुई जनालाई नियन्त्रणमा लिएको हो । जिल्लाको रघुगंगा गाउँपालिका–७ चिमखोला घर भई हाल पर्वतको जलजला गाउँपालिका–३ बौर बस्ने बर्ष २८ की सोबिता बागदास र बेनी नगरपालिका–९ घतान घर भई बौर बस्ने बर्ष ३२ का प्रेम सार्कीलाई उक्त परिमाणको लागूऔषध सहित बुधवार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक मदन कुँवरले जानकारी दिनुभयो ।
कार्यालयका अनुसार, पछिल्लो पटक दुई जनाबाट बरामद भएको उक्त लागूऔषधको यो परिमाण २०७६ सालयताकै सबैभन्दा धेरै हो । लागूऔषध सहित पक्राउ परेका बाग्दास र सार्कीलाई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर अनुसंधान अघि बढाईएको प्रनाउ कुँवरले बताउनुभयो ।यस अघि फागुन ११ गते पर्वतको जलजला गाउँपालिका–३ मल्लाजचोकबाट रुपन्देही सोमरीमाई गाउँपालिका–३ घर भएका १९ बर्षका मुस्ताफा खानलाई तीन सय ९३ ट्याबलेट नाईट्राभेट सहित नियन्त्रणमा लिइएको थियो । त्यसैगरि फागुन १६ गते बेनी नगरपालिका–८ कालीपुलबाटै भारतको बमनग्राम माल्दाहा घर भई पोखरा बसोबास गर्दै आएका २८ बर्षका अलेमुन हक ६.५ ग्राम खैरो हिरोईन सहित पक्राउ परेका थिए ।
जिल्लामा पछिल्लो समय विद्यार्थी र युवाहरु लागूऔषधको कुलतमा फस्ने समस्या बढ्दै गएपछि लागूऔषधका कारोवारीहरु बढेपछि प्रहरीले लागूऔषध नियन्त्रणका लागि खोजी अभियान र विद्यालयहरुमा सचेतनामुलक कार्यक्रमलाई संगसंगै अघि बढाएको छ । लागूऔषधको कारोबारमा संलग्नलाई सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा कार्यालयले पछिल्लो पटक जिल्ला अदालतको फैसला कार्यान्वयनमा गरेका उपलब्धीहरु समेत सार्वजनिक गरिएको छ ।
कार्यालयले कर्तव्य ज्यान, लागूऔषध, सवारी ज्यान, बैङ्किक कसुर लगायतका विभिन्न मुद्धामा फरार रहेका २२ जना कसुरदारलाई पक्राउ गरि उनीहरुमाथि लागेको २५ बर्ष १ महिना २३ दिन कैद र रु १७ लाख ६६ हजार ३७५ जरिवाना समेत असुल उपर गराइएको जनाएको छ ।