निःशुल्क आँखा जाँच शिबिरबाट पाँच सय बढी लाभान्वित

  • २५ फाल्गुन २०७९, बिहीबार
  • 525 पटक पढिएको

बेनी, २५ फागुन : म्याग्दीको मंगला गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा जाँच शिविरबाट पाँच सय बढी लाभान्वित बनेका छन् । मंगलवार र बुधवार गरि दुई दिनसम्म मंगला गाउँपालिका–१ कुहँु र ३ नम्बर वडा बरंजामा सञ्चालन गरिएको शिविरबाट पाँच सय पाँच जनाको आँखा परिक्षण गरिएको हो ।


मंगला गाउँपालिकाको सहयोगमा नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा म्याग्दीले सञ्चालन गरेको शिविरमा कुहुँमा दुई सय ५६ र बरंजामा दुई सय ४९ जनाको आँखा परिक्षण गरिएको थियो । शिविरमा नेत्र ज्योति संघद्धारा सञ्चालित आँखा उपचार केन्द्रका नेत्र अधिकृत दिनेश बानियाँ, हिमालय आँखा अस्पतालका नेत्र सहायक साधना मजाकोटी र स्थानीय स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरु समेतको टोलीले आँखा जाँच गर्नुभएको थियो ।
कुहुँ र बरंजामा गरिएको शिविरबाट पाँच÷पाँच जना मा शल्यक्रिया गर्नुपर्ने मोतियाबिन्दुको समस्या भएका विरामीहरुको पहिचान भएको नेत्र ज्योति संघका सभापति अमर बानियाँले जानकारी दिनुभयो । उहाँका अनुसार, सल्यक्रिया गरि उपचार गर्नुपर्ने आँखाका विरामीहरुको लागि आगामी चैत ५, ६ र ७ गते बेनीमा हिमालय आँखा अस्पताल पोखारको प्राविधिक सहयोगमा बेनी अस्पताल परिसरमा सञ्चालन हुने निःशुल्क सल्यक्रिया सहितको उपचार शिविरबाट उपचार गरिनेछ ।


यस अघि रघुगंगा गाउँपालिका–६ पाखापानीमा सञ्चालित शिविरबाट समेत पाँच जनामा मोतियाविन्दुको समस्या भएका विरामीको पहिचान भएको थियो भने फागुन २८ गते अन्नपूर्ण गाउँपालिका–८ राम्चे, २९ गते वडा नम्बर ७ हिस्तान र ३० गते वडा नम्बर ५ शिखमा आँखा जाँच शिविर सञ्चालन गर्ने तयारी गरिएको नेत्र ज्योति संघले जनाएको छ ।