बेनीमा नृत्य प्रतियोगिता : शिक्षकमा बेनी सामुदायिक र विद्यार्थीमा प्रकाश मावि प्रथम

  • २० फाल्गुन २०७९, शनिबार
  • 553 पटक पढिएको

बेनी २० फागुन । शिक्षा विकास तथा समन्वय इकाई मयाग्दीको आयोजनामा शनिबार बेनीमा जिल्ला स्तरीय शिक्षक र विद्यार्थीको नृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा शिक्षक तर्फ बेनी सामुदायिक माविका शिक्षकहरु प्रथम भएका छन् । त्यसैगरि शिख माविका शिक्षक हेमा पुर्जा द्धितिय र पाउद्धार माविका शिक्षक सरिस्मा तिलिजा तृतीय हुन सफल हुनुभएको छ ।
त्यस्तै विद्यार्थीतर्फ प्रकाश मावि प्रथम, कालिका मावि तिप्ल्याङ द्धितिय र बाल मन्दिर आधारभूत विद्यालय तृतीय भएका छन् । शिक्षक तर्फ १० र विद्यार्थी तर्फ १२ विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगितामा प्रथम,द्धितीय र तृतीय स्थान हासिल गर्ने समूहलाई क्रमशः नगद रु ५ हजार,४ हजार र ३ हजारसहित प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापा मगर, सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापा, बेनी नगरपालिका शिक्षा शाखाका जयराम सुबेदी र निर्णायक संयोजक अजयमिलन श्रेष्ठले पुरस्कार वितरण गर्नुभएको थियो ।


प्रतियोगितामा सहभागी विद्यार्थी र शिक्षक मध्ये छनौट गरेर पोखरामा हुने गण्डकी प्रदेशस्तरीय शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रममा सहभागी गराइने इकाइका प्रमुख थापा मगरले जानकारी दिनुभयो । यसैगरि इकाइले आयोजना गरेको जिल्ला स्तरीय विद्यार्थी वक्तृत्वकला प्रतियोगितामा प्रकाश माविका विद्यार्थी र शिक्षक हाजिरी जवाफ प्रतियोगितामा मुक्तिधाम माविका शिक्षकहरु विजयी भएका छन् । वक्तृत्वकलातर्फ जडभरत शालीग्राम गण्डकी संस्कृत मावि गलेश्वर द्धितीय र बेनी सामुदायिक मावि बेनी तृतीय भएका छन् भने हाजिरीजवाफ तर्फ मंगला मावि बावियाचौर द्वितीय र धवलागिरी मावि सिंगा तृतीय भएका छन् । वक्तृत्वकला र हाजिरीजवाफ प्रतियोगितामा प्रथम,द्धितीय र तृतीय स्थान हासिल गर्नेलाई क्रमशः नगद रु ५ हजार रुपैयाँ ,४ हजार र ३ हजार को साथमा प्रमाणपत्र प्रदान गरिएको थियो ।