बेनी बजार र बगरफाँट जोड्ने बेलिब्रिज निर्माण सुरु

  • २० फाल्गुन २०७९, शनिबार
  • 587 पटक पढिएको

बेनी, २० फागुन : म्याग्दी सदरमुकाम बेनीबजार र पर्वतको जलजला गाउँपालिका –२ र ३ नम्बर वडा समेटिएको बगरफाँटलाई जोड्ने गरि कालीगण्डकी नदीमा बेलिब्रिज निर्माण सुरु भएको छ । पर्वत बेनीदेखि बगरफाँट जोड्ने सडक कालीगण्डकी नदी कटानले सडक बगाएपछि विगत दुई बर्षदेखि बगरफाँटबासी सडक सुविधाबाट बञ्चित बनेका थिए ।
बगरफाँटबासीको समस्यालाई मध्यनजर गर्दै जलजला गाउँपालिका र बेनी नगरपालिकाको समन्वयमा बेनीको कालीपुलदेखि बगरफाँट जोड्ने गरि बेलिब्रिज निर्माण सुरु गरिएको जलजला गाउँपालिका वडा नं. २ का वडाध्यक्ष प्रकाश जीसीले जानकारी दिनुभयो ।बेलिब्रिज निर्माणका लागि बेनी–जोमसोम–कोरला सडक आयोजनाले हिमालयन विल्डर्स बेनीसँग पाँच महिनाभित्र योजना सम्पन्न गर्ने गरी एक करोड ६० लाख रुपियाँमा ठेक्का सम्झौता गरेको छ ।


बेनी–जोमसोम सडकअन्तर्गत पोखरे बगरस्थित कालीगण्डकी नदीमाथि पक्कि नयाँ पुल बनेपछि प्रयोगविहिन बनेको बेलिब्रिजलाई स्थानान्तरण गरेर कालीपुलमा जडान गर्ने गरी सम्झौता भएको आयोजना प्रमुख जगत प्रजापतिले जानकारी दिनुभयो । पुल बन्ने स्थलको नापजाँच पश्चान निर्माण कम्पनी कार्यक्षेत्रमा परिचालन भएको छ । ५४ मिटर लामो बेलिब्रिजको लागि निर्माण कम्पनीले बेनी बजारतर्फ कालीगण्डकी नदी किनारमा जग खन्न काम अघि बढाएको निर्माण कम्पनीका सञ्चालक निरज भण्डारीले बताउनुभयो । उहाँले बाढी र अन्य कुनै समस्या र अवरोध नभएमा निर्धारित समय भन्दा अगाबै पुल निर्माणको कामलाई सम्पन्न गर्ने लक्ष्य सहित उपकरण र मजदुर परिचालन गरिएको जानकारी दिनुभयो ।

सिधा सवारी अवरुद्ध भएपछि पुल निर्माणको माग गर्दै विभिन्न समयमा बगरफाँटवासीले आन्दोलनसमेत गर्दै आएका थिए । करिब तीन सय घरधुरीको बसोबास रहेको बगरफाँटमा सिधा सडक सञ्जाल नहुँदा दैनिक उपभोग्य वस्तु मान्छेले नै बोक्नुपर्ने र निर्माणका सामग्री ढुवानी गर्दा आठ किलोमिटर दूरीको घुमाउरो सडक प्रयोग गर्नुपर्ने बाध्यता रहँदै आएको छ ।