बेनीमा ९५ वटा कुकुरको बन्ध्याकरण

  • १७ फाल्गुन २०७९, बुधबार
  • धिरन खत्री
  • 515 पटक पढिएको

म्याग्दी, १७ फागुन । बेनीमा शिविरमार्फत ९५ वटा कुकुरको बन्ध्याकरण गरिएको छ। बेनी बजारमा छाडा छोडिएका सामुदायिक कुकुरको सन्तान बृद्धि रोक्न बुधबार भेटेरिनरी अस्पतालमा संचालन गरिएको शिविरमार्फत सो संख्यामा बन्ध्याकरण गरिएको हो । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र बेनी नगरपालिकाको आयोजनामा संचालन गरिएको शिविरमा प्राविधिक सहयोग केन्द्रिय रिफरल पुश चिकित्सालयले उपलब्ध गराएको थियो ।

शिविरमार्फत ४१ वटा सामुदायिक र ५४ वटा घरपालुवा कुकुरको बन्ध्याकरण गरिएको केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले जानकारी दिनुभयो । पशु अधिकार ऐन अन्तरगत कुकुर मार्न पाईदैन् । बच्चा जन्माउने प्रक्रियालाई रोक्दा संख्या कम हुने भएकाले एक दिनको शिविरमार्फत सामुदायिक र घरपालुवा कुकुरको बन्ध्याकरण गरिएको सूचना अधिकारी रामकृष्ण बताउनुभयो ।


सामुदायिक कुकुरको संख्या बृद्धि नियन्त्रण गर्नका लागि शिविरले सहयोग पुग्ने केन्द्रका पशु चिकित्सक जीवनप्रसाद आचार्यले बताउनुभयो । “कुकुरको संख्या बृद्धिमा नियन्त्रण गराउन विगतको शिविरले सहयोग पुगेको कारण यसलाई निरन्तरता केन्द्रले दिएको छ,”– आचार्यले भन्नुभयो । “सडकमा हिड्ने पैदलयात्री, मोटरसाईकल सवारलाई कुकुर आतंकले सताएपछि संख्या घटाउन रेविज रोगलाई फैलन नदिन २०७७ सालमा पनि शिविर संचालन केन्द्रले गरेको थियो ।”


बेनी नगरपालिकाका मेयर सुरत केसीले बजार क्षेत्रमा कुकुरको ब्यवस्थापन र संख्या बृद्धि रोक्नका लागि शिविरले सहयोग पुग्ने बताउनुभयो। केन्द्रिय रिफरल पशु चिकित्सालयका  डाक्टर टंकप्रसाद प्रसाई, डाक्टर अर्जुन अर्याल र डाक्टर विकास गिरी सहित ८ जनाको टोलीले कुकुरको बन्ध्याकरण गर्नुभएको थियो । सामुदायिक कुकुर बोक्ने एम्वुलेन्स पनि शिविरमा उपलब्ध थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l