योजना कार्यान्वयन र सेवा प्रवाहमा सुशासन कायमलाई प्राथमिकताः मन्त्री जुग्जाली

  • १४ फाल्गुन २०७९, आईतवार
  • 382 पटक पढिएको

म्याग्दी १४ फागुन । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जाली (सुविन)ले विकास निर्माण योजनाको कार्यान्वयन र सेवा प्रवाहमा सुशासन कायम गर्न सरकारी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । आईतवार म्याग्दी सदरमुकाम बेनीमा सरकारी कार्यालयका प्रमुखहरुसंग अन्तरक्रिया गर्दै मन्त्री जुग्जालीले नागरिकलाई विकास र सुशासनको अनुभूति दिलाउन सरकारी कार्यालयहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।

प्रदेश र संघीय सरकार मार्फत जिल्लामा सञ्चालनमा रहेका योजनाहरुको अवस्थाको बारेमा आफु जानकार नै रहेको बताउँदै उहाँले ढिलासुस्तीलाई हटाउँदै निर्माण व्यवसायिहरुलाई कार्यक्षेत्रमा फर्कनका लागि ताकेता गर्न सम्बन्धीत कार्यालयहरुलाई निर्देशन दिनुभयो ।


‘‘ हिउँदयाममा समेत विकास निर्माणको कामले गति पाएको छैन, प्रदेश सरकार मार्फत गर्नुपर्ने पहल हामी गर्छौँ, कार्यान्वनयको पाटोमा ढिलासुस्ती हटाउन अब सबैखालका प्रयास र प्रयन्त गर्न जरुरी छ, कारबाहीकै तहमा पुग्नुपर्ने भएपनि पछि हट्नु हुँदैन’’–उहाँले भन्नुभयो । जिल्लामा अहिले ठूला विकास निर्माण योजनाहरुमा ८ अर्ब बजेका योजनाहरु कार्यान्वनयको चरणमा रहेको पाइएको बताउँदै योजनाहरुको प्रभाबकारी कार्यान्वयनको चुनौती रहेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तुलुसीराम पौडेल लगायत जिल्ला स्थित कार्यालय प्रमुखहरुले आ–आफ्नो कार्यालयको सेवा प्रवाह तथा योजना कार्यान्वनयको अवस्थाको बारेमा मन्त्री जुग्जालीलाई जानकारी गराउनुभएको थियो ।