एमालेको मंगलामा ‘मिसन ग्रासरुट’ अभियानसम्बन्धी कार्यक्रम

  • १४ फाल्गुन २०७९, आईतवार
  • 377 पटक पढिएको

 

म्याग्दी, १४ फागुन। नेपाल कम्युनिष्ट पार्टी (एमाले) मंगला गाउँपालिका कमिटीको आयोजनामा आज (शनिवार) बाबियाचौरमा ‘मिसन ग्रासरुट’ अभियानसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । दुई महिने ग्रासरुट अभियान अन्तरगत ‘जनताको बहुदलीय जनवाद जिन्दावाद’ भन्ने नारासहित मंगला गाउँपालिकाको वैठक तथा मिसन ग्रासरुट र पार्टी सुदृढीकरण एवं सङ्गठन विस्तार अभियान सम्वन्धी अभिमुखीकरण भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्रमोहन गौचनले एमाले पार्टीको चुनौतीको रुपमा रहेको दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकताको अन्त्यका लागि मिसन ग्रासरुट अभियान सञ्चालन गरिएको बताउनुभयो । पूर्व सांसदसमेत रहनुभएका एमाले केन्द्रीय सदस्य गौचनले मिसन ग्रासरुट अभियानको माध्यमबाट नेता, कार्यकर्तालाई पार्टी र विभिन्न विषयहरुको बारेमा तल्लो तहसम्म पुगेर प्रशिक्षण दिइने बताउनुभयो ।

त्यस्तै, कार्यक्रममा एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले ग्रासरुट अभियानमार्फत जनताको घरदैलोमा पुगेर एमालेले सरकारमा रहँदा गरेका राम्रा कामहरुको प्रचारप्रसार गरिने र सङ्गठन सुदृढीकरण तथा विस्तारलाई जोड दिइने जानकारी दिनुभयो । कार्यक्रममा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य देवबहादुर घले, एमाले जिल्ला उपसचिव राजकुमार थापा र सचिवालय सदस्य एवं प्रदेश (ख) समन्वय कमिटी संयोजक खरमाया बिटालुको विशेष उपस्थिति रहेको थियो ।

एमाले मंगला गाउँपालिका कमिटी अध्यक्ष सतप्रसाद रोकाको अध्यक्षता र सचिव चिरञ्जीवी शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा उपसचिव चक्रलाल पाण्डेले स्वागत गर्नुभएको थियो । कार्यक्रममा पालिकाभित्र एमाले वडा कमिटीका अध्यक्षहरु र अगुवा नेता तथा कार्यकताहरु लगायतको सहभागिता रहेको थियो ।