जिल्लास्तरीय आठौं राष्ट्रपति रनिङ शिल्डको उपाधि बेनी नगरपालिकालाई

  • १३ फाल्गुन २०७९, शनिबार
  • धिरन खत्री
  • 467 पटक पढिएको

 

म्याग्दी, १३ फागुन । जिल्लास्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी बेनी नगरपालिकाले जितेको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा सम्पन्न रनिङ शिल्ड प्रतियोगितामा १५ स्वर्ण, ७ रजत, ८ कास्य पदक हात पार्दै बेनी नगरपालिका प्रथम हुन सफल भएको हो ।


त्यसैगरि प्रतियोगितामा ५ स्वर्ण, ७ रजत र ३ कास्य पदक सहित अन्नपूर्ण गाउँपालिका दोस्रो र ५ स्वर्ण, ३ रजत र ४ कास्य पदक सहित मंगला गाउँपालिका तेस्रो हुन सफल भएका छन् ।


प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुन सफल पालिकालाई क्रमश : २० हजार, १५ हजार र १० हजार रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ । लगातार तीन पटक नै बिजेता बन्न सफल बेनी नगरपालिकाले रनिङ शिल्ड पच गरेको छ । प्रतियोगितामा जिल्लाका ६ वटा पालिकाको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा(खम्बिर), बेनी नगरपालिका मेयर सुरत केसी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी लगायतको उपस्थितमा पदक विजेता खेलाडी र उपाधि बिजेता पालिकालाई पुरस्कार प्रदान गर्नुभएको थियो ।


फागुन १२ र १३ खुल्लामञ्चमा संचालन भएको प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्समा प्रतिस्पर्धा गराईएको थियो । प्रतियोगितामा एथेलटिक्सतर्फ ४ स्वर्ण पदक जित्दै उत्कृष्ट खेलाडी घोषित हुन सफल मंगला गाउँपालिकाकी रिक्जना माझीलाई नगद पुरस्कारसहित आयोजकले सम्मान गरेको थियो ।


जिल्लास्तरीय सम्पन्न रनिङशिल्डमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई यही फागनु २० र २१ गते पोखरामा हुने प्रदेशस्तरीय राष्ट्रपति कपमा सहभागि हुने ८८ जना खेलाडी छनोट गरिएको छ ।

   

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l