मगरदाङ्गमा आमाहरूको नमुना कामः ‘मदिरा सेवन र विक्रि वितरणसंगै जुवातास खेल्न रोक’
- ९ फाल्गुन २०७९, मंगलवार
- 669 पटक पढिएको
प्रकाश अधिकारी,
बेनी, ९ फागुन : म्याग्दीको मालिका गाउँपालिका–५ मगरदाङ्गमा ‘मदिरा सेवन र विक्रि वितरणसंगै जिुवातास खेल्न रोक’ लगाइएको छ । स्थानीय मगरदाङ्ग आमा समूहले गाउँभेला मार्फत सामाजिक नीतिनीयम तयार गरेर लागु गरेका हुन् । समाजमा भएका विकृति विसंगतिलाई हटाउदैँ सभ्य समाज निर्माणमा सहयोग गर्ने अठोटका साथ गाउँमा मदिरा सेवन र विक्रि वितरण तथा जुवातास खेल्न रोक लगाइएको आमा समूहका अध्यक्ष राजमति बुढाले बताउनुभयो । ‘‘युवाहरु कुलतमा फस्दा सिंगो समाजलाई नै प्रभावित बन्ने गरेको छ, सार्वजनिक स्थानमा मदिरा सेवन र बेचविखन गर्नेलाई जरिवानै तोकेका छौँ’’–अध्यक्ष बुढाले भन्नुभयो ।
महिलाहरुलाई आत्मनिर्भर बनाउँदै मौलिक संस्कृति संरक्षण तथा समाजमा भएका विकृति विसंगतिको अन्त्यको लागि सक्रिय समुहले समाजमा जुवातास खेल्न तथा मदिराजन्य पदार्थको सेवन गर्न निषेध गरेको आमा समूहले जनाएको छ । गाउँभरिका पसलहरुमा सिसा, वियर तथा रक्सीका कुनैपनि सामाग्री लिएर बेचविखन गर्न नपाइने नियम बनाइएको अध्यक्ष बुढाले जानकारी दिनुभयो । समाजलाई सम्भ बनाउन र विकृति नियन्त्रण गर्न समूहले चालेको अभियानलाई सार्थक बनाउनुपर्ने निर्वतमान वडा अध्यक्ष समेत रहनुभएकी स्थानीय अगुवा पिपला बुढाले बताउनुभयो । उहाँले समाज परिवर्तन र रुपान्तरण सबैको साझा दायित्व भएकाले आमा समूहले सञ्चालन गरेको अभियानमा सबैले साथ दिनुपर्ने बताउनुभयो ।
आमा समूहले मदिरा लगायतका मध्यपानको हानि र असरको बारेमा समेत टोल र बस्तीस्तरमा सचेतना अभियान सञ्चालन गर्न सुरु गरेको छ । घरघरमा पुगेर मध्यपान र जुवातासमा लगाइएको निषेधको बारेमा जानकारी गराउने र अटेर गर्नेलाई जरिवाना सहितको कारबाही गरिने बारेमा सचेतना जगाउन थालिएको आमा समुहकी सचिब समेत रहनुभएकी स्थानीय शिक्षक सुनिता पुनले बताउनुभयो । उहाँका अनुसार, कसैले नियमविपरित कार्य गर्ने गराउने तथा रक्सी खाएर समाजमा हो–हल्ला, झैझगडा तथा अशान्ती फैलाउने गरेमा पहिलो पटक रु पाँच हजार, दोस्रो पटक रु १० हजार र तेस्रो पटकमा रु १५ हजार जरिवाना गर्ने र प्रहरी प्रशासनलाई जिम्मा लगाउने नियम बनाइएको छ ।
आमा समूहले मौलिक संस्कृतिको संरक्षण, गाउँ सरसफाई संगै विभिन्न जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यसैबिच आमा समूह, स्थानीय देउताभिर युवा क्लब र टोल सुधार समितिको समन्वयमा गाउँमा उत्पादित खाद्य बस्तुको मुल्य र मजदुरहरुको ज्याला समेत निर्धारण गरिएको छ ।
खाद्यन्नको मूल्य निर्धारण तथा नयाँ ज्यालादर पनि तोकेको प्रेस नोट मार्फत जनाएको छ । समुहका अध्यक्ष राजमति बुढाथोकी पुन,सचिव सुनिता पाइजा पुन , कोषाध्यक्ष जुना घर्ती, देउताभिर युवा क्लबका अध्यक्ष दोरन फगामी र गाँउ सुधार समितीका अध्यक्ष कुमार फगामीले हस्ताक्षर गरेको प्रेस नोटमा समुहले तोकेको समय, मूल्य तथा निषेधित कार्य गर्ने गराउन उस्काउने सबैलाई कानूनबमोजिम कारवाहीको लागि सिफारिस समेत जानकारीको लागि अनुरोध गरीएको छ ।
समुहले तोकेको नयाँ ज्यालादर तथा खाद्यन्न र गेडागुडीको मूल्य तल उल्लेख गरिएको छ ।