म्याग्दीको पुराना र प्राचिनकालिन कुवा नासिँदै

  • ८ फाल्गुन २०७९, सोमबार
  • 415 पटक पढिएको

गलेश्वर ८ फागुन । सिरानमा ऐतिहासिक ज्यामरुककोट, पुधारमा सात्लेपानीको भिर । भिरको बीच हुँदै भकुण्डे उक्लने र बगरफाँट, खबरा झर्ने पुरानो बाटा छ । बाटोको दायाँतर्फ करिब पाँच सय वर्ष पुरानो एउटा कुवा छ । त्यो कुवालाई स्थानीयले सात्लेपानीको राजकुवा भन्दछन् ।

म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको भकुण्डे नजिकै सात्लेपानीको जङ्गलमा देखिने यो कुवा पाँच सय वर्ष पुरानो ऐतिहासिक पर्वत राज्यको अमूल्य सम्पदा हो । यही कुवाको पानी खाएर तत्कालीन पर्वतका राजा मलेवम मल्लका भाइ भर्तिवम मल्लले ज्यामरुकोटमा राज्य चलाएका थिए ।

जनतालाई यही कुवाको पानी खुवाएर बचाएका इतिहासमा उल्लेख छ । तर, पछिल्लो समय राजकुवा मात्रै होइन ग्रामीण क्षेत्रका यस्ता प्राचीन सम्पदा धमाधम नासिँदै गएका छन् । कुवा र पँधेरा सुकेका छन् भने पुराना बाटा पुरिएका छन् । सोह्रौँ शताब्दीको अन्त्यतिर तत्कालीन पर्वत राज्यअन्तर्गतको ज्यामरुककोट राज्यका राजा भर्तिवम मल्लले पानी खाने गरेको सो राजकुवा अहिले जीर्ण अवस्थामा छ । ऐतिहासिक, सामरिक, पुरातात्विक, जैविक, धार्मिक र प्राकृतिक दृष्टिकोणले समेत महत्वपूर्ण मानिएका राजकुवालगायत तत्कालीन समयका ऐतिहासिक सम्पदा नष्ट हुँदै गएका छन् ।

यहाँ तत्कालीन समयमा युद्धका लागि प्रयोग गरिएका खुँडा, खुकुरी, तरबार, भाला, ढाल, छेलोलगायत हातहतियारका साथै पुरातात्विक महत्वका इँटा, इनार, मौलो, दियोलगायत सामग्री राखिएका छन् । पत्थरबाट निस्किएका चिसापानीका थोपा सङ्कलन हुने कुवा देखिन छोडेका भकुण्डैचौरस्थित अर्जुन मावि व्यवस्थापन समितिका अध्यक्ष टीकाबहादुर कार्कीले बताए । ‘थोपा–थोपा चुहिएको चिसो पानीले उकालो चढ्दै गरेका, खेल्दै विद्यालय जाने विद्यार्थीको प्यास मेटाउँथ्यो । तर अहिले आधुनिकतासँगै खानेपानी विस्तारमा आएका नयाँ–नयाँ प्रविधिले कुवालाई विस्थापन गरिदिएका छन्’, उनले भने । त्यो बेला यातायातको सुविधा थिएन । कहीँकतै जानुपर्दा सर्वसाधारण घण्टौँ उकालीओराली यात्रा गर्दथे ।

गाउँमा फाटफुट हुने पसलका लागि सामग्री भरियाले बोकेर लैजान्थे । जङ्गलदेखि साँघुरा बाटामा जोखिम मोलेर यात्रा हुन्थ्यो । पानीको प्यास मेटाउन अहिले जस्तो ‘तुमलेट’ बोकेर हिँड्ने चलन थिएन । घण्टौँको यात्रा, पिठ्यूँमा गह्रौँ भारी अनि गर्मी । त्यो कष्टलाई कम गराउने एउटा उपाय थियो ‘कुवाको पानी’ । ‘अहिलेका जस्ता धारा त्यो बेलामा कहाँको हुनु रु धर्मकर्म गर्नेले, गाउँलेले बाटा बाटामा चौतारा बनाइदिएका हुन्थे । चौताराका छेउमा कुवा पनि हुन्थे । बाटो हिँड्दा थकाइ लाग्थ्यो, तिर्खा लाग्थ्यो । त्यही कुवाको पानीले शीतल बनाउँथ्यो’, बेनीनगरपालिका–२ का ८४ वर्षीय रणबहादुर कार्कीले भने, ‘अहिले त घरघरमा सिमेन्टले बनाएका धारा आए । हामी हिँडेका बाटामा अहिलेका कोही हिँड्दैनन् । जहाँ जान परे नि साधनमा हिँड्छन् । न पुराना कुवा छन्, न त पुराना बाटा नै ।’ आधुनिकतासँगै पुराना कला, संस्कृति, परम्परा र सामग्री लोप हुँदै गएको पाका पुस्ताको भनाइ छ । आधुनिकताका नाममा परम्परागत वस्तुलाई चटक्कै छाड्दा मौलिकता लोप भएर जाने उनीहरूको चिन्ता छ ।

पुराना कुवा, इनारलगायतलाई संरक्षण गरेर तिनै कुवाबाट धारामा पानीको आपूर्ति गनुपर्ने उहाँहरु ब्ताउछन् । कुवा भत्काएर पानीका स्रोतलाई आधुनिक बनाउँदा प्राकृतिक मूल नै सुक्ने जोखिम छ । भू तथा जलाधार व्यवस्थापन विज्ञ दिवाकार पौडेलका अनुसार पानीका कुवा, पोखरी, इनारलगायत स्रोत नाश हुँदै जाँदा विकासभन्दा विनाश बढेकाले भविष्यमा पानीको ठूलो सङ्कट आउन सक्ने देखिएको छ ।

‘विकासका नाममा पानीका मुहान नजिकै डोजर लगाउँदा पानी आउने ट्र्याक नै बिथोलिएका छन्, पानीको सञ्चिति बढाउन सकिएन भने भविष्यमा गम्भीर सङ्कट निम्तिन सक्छ’, उनले भने । मानिसलाई सुविधा दिने नाममा वनजङ्गलमा रहेका पानीका स्रोत पूरै ढाक्ने र मुहानमा नै पाइप जोडेर बस्तीमा पानी झार्दा जङ्गली जनावर र चराचुरुङ्गी नै लोप हुने अवस्था आएको उनको भनाइ छ ।

जङ्गलमा तिर्खा मेटाउन नपाउँदा जङ्गली जनावर बस्तीमा आउने र मानवलाई आक्रमण गर्ने गरेको पौडेलले बताउनुभयो । सरंक्षणको अभावमा लोप हुदैँ गएका यस्ता ऐतिहासिक सम्पदाको संरक्षणका लागि सरकारी तहबाट कुनै पहल नभएपछि स्थानीयवासी नै सक्रिय हुनुपर्ने वन डिभिजन कार्यालय म्याग्दीका सहायक डिभिजन वन अधिकृत चन्द्रमणि सापकोटाले बताए ।

ज्यामरुककोटको डाँडामा रहेको आफ्नो दरबार नजिकैको कुवापहिराले पुरेपछि सात्लेपानीमा कुवा बनाएका स्थानीय बूढापाकाको भनाइ छ । तत्कालीन समयमा ज्यामरुकोट राज्यमा पानीको मुहान सुक्दै गएपछि राज्यमा पानीको अभावले मान्छे र पशुचौपाया मरणासन्न अवस्थामा पुगेकाले राजा भर्तिवम मल्लले आफ्ना दरबारियालाई पानी खोज्न लगाउने सात्लेपानीमा पानीको मुहान भेटाएपछि कुवा खन्न लगाएको भन्ने इतिहास छ । रासस