शिवरात्री पर्वमा गलेश्वर मन्दिरमा रु ४ लाख ३५ हजार भेटी संकलन

  • ७ फाल्गुन २०७९, आईतवार
  • 715 पटक पढिएको

 

म्याग्दी, ७ फागुन । बेनी नगरपालिका – ९ स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिरमा एकै दिन रु ४ लाख बढी भेटी संकलन भएको छ । महाशिवरात्री पर्वको अवसरमा शनिवार गलेश्वर शिवालयको दर्जन र पुजाआजा गर्न आएका भक्तजनबाट रु ४ लाख ३५ हजार ३७ भेटी संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिब बलबहादुर खत्रीले जानकारी दिनुभयो ।


मन्दिरमा भक्तजनले चढाएको भेटि आईतबार कोषका समिति, कर्मचारी, गलेश्वर बजारबासी, आमासमूह शसस्त्र प्रहरी र नेपाल प्रहरीको उपस्थितमा गनिएको थियो । भक्तजनले मुल मन्दिर लगायत विभिन्न स्थानमा चढाएको भेटी संगै त्रिशुल चढाउनी, ग्रहशान्ति, रुद्री लगायतको पुजा गर्दा उपलब्ध गराएको दान सहयोग रकमलाई सार्वजनिक गरिएको कोषका सदस्य सचिव खत्रीले जानकारी दिनुभयो ।

प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिरमा महाशिवरात्रीको पर्वको अवसरमा दर्शन र पुजाआजाका लागि म्याग्दीका ग्रामिण भेगसंगै छिमेकी जिल्ला बागलुङ, पर्वत पोखरा, काठमाण्डौ लगायतका ठाउँबाट ३० हजार जना भन्दा बढी भक्तजन आएको कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

मुक्तिनाथ मन्दिरको प्रवेशद्वारमा रहेको गलेश्वरधाम हिन्दु धर्मावलम्वीहरुको प्रसिद्ध तिर्थस्थल मानिन्छ । गलेश्वरधामको दर्शन र पुजाआजा गरेमा सुख, शान्ति र समृद्धि हुने जनविश्वास छ । मन्दिरबाट संकलन हुने भेटीलाई कोषको पूर्वाधार निर्माण संगै गलेश्वर क्षेत्रको विकास निर्माण र सामाजिक कार्यहरुमा समेत परिचालन गर्ने गरिएको छ ।