महाशिवरात्रि पर्वमा गलेश्वरमा भक्तजनको भीड (फोटाे फिचर)

म्याग्दी ६ फागुन । म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ । महाशिवरात्रि पर्वमा भगवान शिवको पुजा आराधानको लागि बिहानैदेखि गलेश्वर शिवालय मन्दिरमा भक्तजन र दर्शनार्थिहरुको भीड लागेको हो ।

विहानैदेखि भक्तजनको भीड लागेपछि लाइन लगाएर सहज रुपमा पुजा र दर्शन गर्ने व्यवस्था मिलाइएको गलेश्वर शिवलाय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार, शिवलारात्री पर्वको अवसरमा मन्दिरमा पुजाआजा र दर्शन संगै रातमा दिप प्रज्वलन गर्ने भक्तजनहरुको सहजताका लागि विभिन्न उप–समितिहरु मार्फत आवश्यक सहजीकरणको काम भैरहेको छ ।

पवित्र कालीगण्डकी नदी किनारमाथि रहेको नौ रोपनी क्षेत्रफलको एउटै चक्रशिलामा फैलिएको गलेश्वरधाममा पूजाआजाका लागि म्याग्दीका साथै पर्वत, बागलुङ, कास्की, चितवन, नवलपरासी लगायतका क्षेत्रबाट समेत भक्तजनहरु उल्लेख्य मात्रामा आएका छन् । नेपालको दोस्रो पशुपतिनाथको रुपमा परिचित गलेश्वर शिवालय मुक्तिनाथ प्रवेशद्धारकोरुपमा समेत चिनिन्छ ।

गलेश्वर मन्दिर परिसरमा दिनभरजसो शिवजीको पूजा आराधना गर्ने र रातको समयमा बत्ती बालेर जाग्राम बस्ने, भजनकीर्तन गर्ने, धुनी जगाउने तथा भगवान् शिवको प्रिय मानिने महाप्रसाद ग्रहण गर्ने व्यवस्था मिलाइएको छ । गलेश्वर शिवालयका साथै जिल्लाका अन्य स्थानमा रहेका शिव मन्दिरहरुमा समेत विहानैदेखि भक्तजनहरुको चहलपहल बढेको छ ।