गलेश्वर बजारमा ‘सडक बत्ती’ जडान

  • १ फाल्गुन २०७९, सोमबार
  • धिरन खत्री
  • 385 पटक पढिएको

म्याग्दी, १ फागुन । बेनी नगरपालिका–९ स्थित गलेश्वर बजारमा सडक बत्ती जडान गरिएको छ। रातको समयमा बजारलाई उज्यालो राख्ने उद्देश्यले प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा भक्तजनले चढाएको भेटीबाट गलेश्वरको प्रवेशद्वारदेखि राहुघाट नदीमा रहेको मोटरेबल पुलसम्मको बजारमा सडक बत्ती जडान गरिएको हो ।


गलेश्वर शिवालय क्षेत्र विकास कोषको गत पुष २७ गते भएको साधारणसभाको निर्णयबाट गलेश्वर प्रवेशद्वार देखि राहुघाट नदीको पुलसम्मको बजार क्षेत्रमा र मन्दिर परिसरमा जडान गरिएको बत्तीको उदघाटन गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माघवप्रसाद रेग्मीले गर्नुभएको हो । भक्तजनले चढाएको भेटीमध्ये २ लाख ३० हजार ७५० रुपैयाँ खर्चमा ५५ वटा सडक बत्ती जडान गरिएको कोषका अध्यक्ष रेग्मीले बताउनुभयो ।


सडक बत्तीले बजारबासीलाई रातको समयमा सहज हुने कोषका उपाध्यक्ष बमबहादुर पुनले बताउुनभयो । “बत्ती जडानले चोरीका घटनाहरु कम गराउने र पैदलयात्रीलाई पनि सहज र मन्दिर परिसरमा सिसि क्यामरा जडान गर्नका लागि सडक बत्तिले मदत पुग्ने छ”–उपाध्यक्ष पुनले भन्नुभयो । “सडक बत्ती मर्मत लगायतको खर्च गलेश्वर शिवलाय क्षेत्र विकास कोषले ब्यहोर्ने छ ।”


९ रोपनी क्षेत्रफल फैलिएको विशाल शिलामाथि अवस्थित अलौकि धार्मिकस्थल गलेश्वरधाममा यज्ञशाला हवन कुण्ड ५ लाख ६२ हजार रुपैयाँ खर्चमा पुर्नःनिर्माण गरिएको छ । जिर्ण अवस्थामा रहेको यज्ञ हवन कुण्ड निर्माणका लागि पोखरा निवासी विष्णु पुनले ४ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको थियो । मन्दिरको पुर्वाधार निर्माणका लागि बेनी नगरपालिका ९ हाल काठमाण्डौ निवासी कोषका सल्लाकार रमेश सुवेदीले १ लाख ५० रुपैयाँ आथिक सहयोग उपलब्ध गराउनुभएको छ ।


त्यस्तै मन्दिर परिसरमा विभिन्न दाताहरुको सहयोगमा दुईवटा चौतारी मर्मत गरिएको छ। मन्दिरको मुल गेट अगाडी स्वर्गिय बुवा मिनबहादुर विश्वकर्माले निर्माण गरेको चौतारी बेनी निवासी छोरा जीवन विश्वकर्माले मर्मत सम्भार गर्नुभएको छ। भने, मन्दिर परिसरको चौतारीको मर्मत निर्माणकर्ता शान्ता गौचनले गर्नुभएको कोषले जानकारी दिएको छ।

मन्दिरको मुल गेटदेखि कालीगडकी नदीको किनार सम्म भक्तजनलाई आवातजावात गर्न सहज हुने पदमार्ग निर्माण लगायतको पुर्वाधार बनाउनका लागि संघ र प्रदेश सरकारसंग पहल गर्ने अध्यक्ष रेग्मीले बताउनुभएको छ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l