बेनी अस्पतालमा ज्येष्ठ नागरिक कक्ष सञ्चालन (तस्बिर सहित)

  • १ फाल्गुन २०७९, सोमबार
  • कमल खत्री
  • 447 पटक पढिएको

बेनी १ फागुन । म्याग्दी सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा ज्येष्ठ नागरिकहरुको उपचारमा सहजताको लागि ‘ज्येष्ठ नागरिक कक्ष’ सञ्चालनमा ल्याइएको छ । संघीय सरकारको सहयोगमा अस्पताल व्यवस्थापन समितिले सोमबारदेखि ६० बर्ष उमेर पुगेका ज्येष्ठ नागरिकहरुको उपचारका लागि ज्येष्ठ नागरिक बहिरङ्ग कक्ष र वार्ड सञ्चालनमा ल्याएको हो ।

अस्पतालको ओपीडि तर्फ र भर्ना भएर उपचार गराउनुपर्ने भएमा वार्डतर्फ ज्येष्ठ नागरिकहरुको छुट्टै कक्ष सञ्चालनमा ल्याइएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र प्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार, अस्पतालमा उपचारमा आउने ज्येष्ठ नागरिकहरुलाई छुट्टै कक्षमा उपचार सेवा संगै उमेर समुह र आर्थिक अवस्थाको आधारमा स्वास्थ्य परिक्षणतर्फ थप छुट सहुलियतको समेत व्यवस्था गरिएको छ ।

अस्पतालमा ज्येष्ठ नागरिक कक्ष सञ्चालनका लागि संघीय सरकारबाट रु २१ लाख बजेट प्राप्त भएको छ । उक्त बजेटमध्ये ३० प्रतिशत भौतिक संरचना र औजार खरिदमा परिचालन गरिएको र ७० प्रतिशत बजेट विरामीहरुको औषधी उपचारमा परिचालन हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शंकरराज लामिछानेले जानकारी दिनुभयो ।

अस्पतालले ज्येष्ठ नागरिकहरुको उपचारको लागि ओपीडि र वार्ड कक्षमा आवश्यक औजार, उपकरण र सामाग्रीको व्यवस्थापन गरिसकेको छ । अस्पतालले सञ्चालनमा ल्याएको ज्येष्ठ नागरिक उपचार कक्ष अन्तरगत ओपिडि सेवामा परिक्षण सेवामा बढीमा १ हजार २ सय र वार्डमा ४ हजारको परिधिमा रहेर सेवा उपलब्ध गराउने डाक्टर लामिछानेले जानकारी दिनुभयो ।

ज्येष्ठ नागरिक परिचयपत्र र नागरिकताको आधारमा ६० बर्ष उमेर पुगेकाहरुलाई उक्त सुविधा प्रदान गरिने अस्पतालले जनाएको छ । अस्पतालको सामाजिक सेवा एकाई अन्तरगत सञ्चालनमा आएको यस सेवा अन्तरगत ६० देखि ६९ उमेरसम्मकालाई ५० प्रतिशत, ७० देखि ७९ बर्षसम्मकालाई ७५ प्रतिशत, ८० देखि ८४ बर्षसम्मका लागी तोकिएको सेवा पुरा निशुल्क र ८५ बर्ष माथिका नागरिकको लागि सबै सेवा निशुल्क प्रदान गरिने अस्पतालका डाक्टर निकेश श्रेष्ठले जानकारी दिनुभयो ।

अस्पतालमा सञ्चालनमा ल्याइएको ज्येष्ठ नागरिक उपचार कक्षको सुभारम्भ गर्दै नागरिक समाजका संयोजक सुदर्शनकुमार श्रेष्ठले यो सेवाले ज्येष्ठ नागरिकहरुले सहज, सरल र सर्वसुलभ तवरले आधारभुत स्वास्थ्य उपचारको प्रत्याभुति दिलाउने बताउनुभयो ।       

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l