लागुऔषध र साईबर अपराध रोकथाम र नियन्त्रण प्राथमिकतामाः प्रनाउ कुँवर

  • २९ माघ २०७९, आईतवार
  • 542 पटक पढिएको

म्याग्दी २९ माघ । म्याग्दीमा नवआगन्तुक प्रहरी नायब उपरीक्षक मदन कुँवरले जिल्लामा शान्ति सुरक्षालाई मजवुद बनाउने कार्य संगै लागुऔषध दुव्र्यसन र साइबर अपराध नियन्त्रण र रोकथाममा आफुले प्राथमिकता दिने बताउनुभएको छ । आइतवार जिल्ला स्थित पत्रकार तथा सञ्चारकर्मीहरुसंग अन्तरक्रिया गर्दै प्रनाउ कुँवरले म्याग्दीमा समेत लागुऔषध र साइबर अपराधको घटना बढ्दो क्रममा रहेको जानकारी पाएको बताउँदै त्यसतर्फ आफुले विशेष ध्यान दिने बताउनुभयो ।
‘‘लागुऔषधको समस्या यस जिल्लामा पनि रहेको मैले बुझेको छु, विद्यालय उमेरका बालबालिकादेखि युवायुवति सम्म नै यसको कुलतमा फस्ने समस्या विद्यमान छ, त्यसका लागि सचेतना अभियान सञ्चालन गर्ने र भैहालेको अवस्थामा रोकथाम र आवश्यक कानुनी उपचारमा कुनै कसुर बाँकी राख्दैनौँ’’–उहाँले भन्नुभयो । प्रनाउ कुँवरले सामाजिक सञ्जाल लगायतको माध्ययमबाट ठगी गर्ने लगायतका साइबर अपराधका घटना पनि बढ्न थालेकाले त्यसलाई रोकथाम र नियन्त्रणको लागि समेत विशेष कार्यक्रम ल्याइने बताउनुभयो ।

शनिवार मात्रै जिल्ला प्रहरी कार्यालयले २०७७ पुस ५ गते जिल्ला अदालतबाट लागु औषध मुद्धामा दोषि ठहर भएर फरार रहेका एक व्यक्तिलाई पक्राउ गरि जिल्ला अदालतमा पेश गरेको थियो । प्रनाउ कुँवरले कार्यालयमा सेवाग्राही मैत्री वातावरण तयार गर्ने र प्रहरी कार्यालयमा सहज रुपमा सेवा लिने अवस्था बनाउने बताउँदै ढिलासुस्ती र भनसुनबाट टाढा रहने समेत बताउनुभयो । कार्यक्रममा जिल्ला स्थित पत्रकार तथा सञ्चारकर्मीहरुले जिल्लामा प्रहरीको भूमिका, शान्ति सुरक्षाको अवस्था र प्रहरीले चाल्नुपर्ने कदमहरुको बारेमा नवआगन्तुक प्रनाउ कुँवरको ध्यानकर्षण गराएका थिए ।