पर्यटकलाई लोभ्याउने ‘नारच्याङ’ झरना

  • २७ माघ २०७९, शुक्रबार
  • 562 पटक पढिएको

म्याग्दी, २७ माघ। अग्लो र भिरालो पहाड। पहाडको टुप्पोबाट बग्ने झरना। त्यहीँ भिर तथा पहराको सहारामा बगेको झरनाको चिसो पानी । अन्नपूर्ण र निलगिरी हिमालको काखँमा रहेको उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा पर्यटक लोभ्याउने आकर्षक ‘नारच्याङ’ झरना पर्छ ।

पहाडको टुप्पोबाट कलकल गर्दै खस्ने निकै सुन्दर, आकर्षक अनि मनमोहक झरना पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्दै गएको छ।


समुन्द्री सतहबाट १ हजार ७ सय मिटरको उचाइमा अवस्थित नारच्याङ झरनाको उचाई मात्र ३ सय मिटरभन्दा बढी छ। नारच्याङ गाउँमा मानव बस्तीभन्दा धेरै पहिलेदेखि नै त्यस ठाउँमा झरना रहेको स्थानीयहरुको अनुमान छ।

यस झरनामा म्याग्दी, बागलुङ, मुस्ताङ र पोखरासहित देशका विभिन्न स्थान र विदेशबाट पर्यटकहरु आउने गरेको अन्नपूर्ण युवा क्लवका अध्यक्ष एवम् सामाजिक अगुवा टकबहादुर पुन बताउनुहुन्छ । बेनी–जोमसोम–कोरला राजमार्गबाट पनि सहजै देखिने तथा नजिकमा पर्ने भएकाले अधिकांश पर्यटकहरु नारच्याङ झरनामा पुगेर रमाउने गर्दछन्।


पर्यटकलाई लक्षित गरेर नारच्याङ गाउँमा होमस्टे समेत सञ्चालन गरिएको अध्यक्ष पुनले भन्नुभयो । नारच्याङ झरनाभन्दा माथि मानव बस्ती नभएको हुँदा झरना एकदमै सफा रहेको छ भने झरनाको तल फेदीमा भुमेथानको मन्दिर बनाइएको छ।