म्याग्दीमा पहिलो पटक बेनी नगरपालिकामा ‘नगर प्रहरी’ भर्ना

  • २६ माघ २०७९, बिहीबार
  • 553 पटक पढिएको

म्याग्दी, २६ माघ । म्याग्दीमा बेनी नगरपालिकाले जिल्लामै पहिलो पटक आफ्नै नगर प्रहरी भर्ना गरेको छ । स्थानीय तहले आफ्नै छुट्टै गाउँ तथा नगर प्रहरी भर्ना गर्न पाउने अधिकार अन्तरगत बेनी नगरपालिकाले कार्यविधि निर्माण गरि नगर प्रहरी भर्ना गरेको हो । नगरपालिकाले यही माघ १९ गते नियुक्त गरेका तीन जना नगरप्रहरीलाई बिहीबारदेखि दज्र्यानी चिह्न प्रदान गरी औपचारिक रूपमा कामकाजमा खटाएको छ । नगर प्रमुख सुरत केसीले नगर प्रहरीका हवल्दार शंकर पौडेल, सिपाही अभिशेक मिजार र रेजिना बिकलाई र्दज्यानी चिह्न प्रदान गर्नुभएको थियो ।


‘नगर प्रहरीलाई कार्यविधिमार्फत ३४ प्रकारका काम गर्ने अधिकार दिएका छौ,’ नगर प्रमुख केसीले भन्नुभयो ‘सार्वजनिक सम्पत्तीको संरक्षण, न्यायिक समितिको काम कारबाहीमा सघाउने, राजस्व संकलन र विपद् व्यवस्थापनमा नगर प्रहरी परिचालन हुन्छन्।’ बुधबार राति वडा नम्बर ४ राक्सेका जीवन सुवेदीको घरमा लागेको आगो नियन्त्रणमा जनपद प्रहरी र जनप्रतिनिधि तथा दमकलसहित नगर प्रहरीलाई परिचालन गरिएको थियो ।


‘हवल्दारमा तीन र जवानमा १० जनाको आवेदन परेको थियो,’ नगरपालिकाका प्रशासकीय अधिकृत युवराज थापाले भन्नुभयो ‘आवेदन संकलन, लिखित परीक्षा, अन्तर्वार्ता र शारीरिक तन्दुरुस्ती परीक्षण गरेर नगर प्रहरी भर्ना गरिएको हो।’ छवटा स्थानीय तह भएको म्याग्दीमा बेनी नगरपालिकाले जिल्लामै पहिलो पटक नगरप्रहरी भर्ना गरेको हो। आधारभूत तालिम लिएपछि नगरप्रहरी औपचारिक रूपमा काममा परिचालन भएका हुन्। नगर प्रहरी हवल्दार पौडेलले कार्यपालिकाको आदेश र कार्यविधिअनुसार नगरको हितमा काम गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।
नगर प्रहरीले कार्यविधिअनुसार पारिश्रमिक र अन्य सुविधा पाउनेछन्। संविधान र स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहलाई आफ्नै प्रहरी भर्ना गर्ने अधिकार दिएको छ। २०७५ मा नगर कार्यपालिका बैठकले गरेको नगर प्रहरी भर्ना गर्ने निर्णय चार वर्षपछि कार्यान्वयन भएको हो।