जलजलामा युवाहरुले गरे नमूना गाउँसभाको अभ्यास

  • २६ माघ २०७९, बिहीबार
  • 327 पटक पढिएको

 

जलजला, २६ माघ । पर्वतको जलजला गाउँपालिकाको केन्द्र लामाखेतमा नमुना युवा गाउँसभा अभ्यास तथा प्रशिक्षण कार्यक्रम गरिएको छ । राष्ट्रिय युवा परिषद्को प्राविधिक सहयोगमा जलजला गाउँपालिकाले युवाहरुलाई नीति निर्माण गर्ने ठाउँ गाउँ, प्रदेश र प्रतिनिधीसभा सञ्चालनको प्रक्रीयाको बारेमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान सिप प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो ।

तीन दिनसम्म सञ्चालन भएको कार्यक्रममा गाउँपालिकाको ९ वटै वडाबाट चार÷चार जनाको दरले युवाहरु सहभागी भएका थिए । तिन दिन सम्म संचालन भएको कार्यक्रममा प्रक्रियागत रुपमा नमुना युवा सांसद गठन समेत भएको छ। जसको अध्यक्षमा बैकुण्ठ जिसी, उपाध्यक्ष सुधा जिसी, र वडागत रुपमा सहभागी भएका प्रशिक्षार्थीहरु सदस्यका रुपमा चयन गरेको छ ।

कार्यक्रममा आयुषा कडेल र देवराज अवस्थिले गाउँसभा बैठक आव्हान, कार्यसूचि तय, सभा शुरु, सञ्चालन र समापनका प्रक्रीया, बैठकमा प्रस्तुतहुने शैली र प्रयोगगर्ने भाषाको विषयमा सहजिकरण गर्नुभएको थियो । सैद्धान्तिक साथसाथै सहभागीहरुलाइ गाउँसभाको अध्यक्ष र सदस्यहरुको रुपमा चयनगरी सभा सञ्चालनको नमुना अभ्यास गराइएको थियो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले नमुना अभ्यासले युवा मार्फत समुदाय स्तरसम्म गाउँसभाको महत्व बुझाउन सहयोग पुगेको बताउनुभयो । उहाँले नमुना युवा गाउँसभा अभ्यास तालिममा सिकेका कुरा भविष्यमा जो जहाँ पुगेपनि जिबनोपयोगी हुने र राजनैतिक रुपमा जुन दलसंग आबद्द भएपनि यसरी सिकेको सिप समाजको रुपान्तरणमा उपयोगी हुने बताउनुभयो । प्रमुख प्रशिक्षक आयुषा कंडेलले युवावर्ग दलगत विचार मात्र सिमित नभई समाजको यथार्थ पहरेदार र परिबर्तनको सहि सम्बाहक बन्न आग्रह गर्नुभयो ।

प्रशिक्षार्थीको तर्फबाट पार्वती जि.सी, साजन परियार, सुधा सुबेदी, बैकुण्ठ जिसीले प्रशिक्षणमा आफुले सिकेका कुरा र युवाले सुशाशानको वकालत गन खबरदारी गर्नुपर्ने कुरा ब्यक्त गरेका थिए ।