हरियालीमा आर्गानिक रेष्टुरेण्ट सञ्चालन

  • २५ माघ २०७९, बुधबार
  • 614 पटक पढिएको

बेनी, २५ माघ । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा सञ्चालनमा रहेको ‘हरियाली कृषि फार्म’ले अर्गानिक रेष्टुरेन्ट सञ्चालनमा ल्याएको छ । आधुनिध प्रविधिको प्रयोग गरि तरकारी खेतीसंगै माछा, कुखुरा, कालीज लगायतको व्यावसायिक पालन गर्दै आएको फार्मले सिंगामा अर्गानिक रेष्टुरेण्ट सञ्चालनमा ल्याएको हो ।

फार्मको भ्रमणमा आउने आगन्तुक र अर्गानिक उत्पादनको स्वाद लिन चाहनेहरुलाई लक्षित गरि रेष्टुरेण्ट सञ्चालनमा ल्याइएको हरियाली ग्रुपका प्रवन्ध निर्देशक गोविन्द पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार, फार्ममा उत्पादन हुने उपजहरुलाई नै प्रयोग गरि रेष्टुरेण्टका परिकार बनाइनेछ ।

सिंगा र आँगेबगरमा १६० रोपनी जग्गामा तरकारी खेती, माहुरी, कुखुरा र माछापालन गरिएको यस फार्मको अवलोकनका लागि आउनेहरुको संख्या बढ्दै गएको छ । रेष्टुरेण्टमा आफ्नै फार्ममा उत्पादन भएका माछा, लोकल कुखुरा, कालीजको मासुको विशेष परिकार आकर्षणको रुपमा रहेछन् ।

१० जनालाई बासको समेत सुविधा रहेको उक्त रेष्टुरेण्टमा १०० जना क्षमताको कार्यक्रम सञ्चालन गर्ने सभाहल समेत रहेको छ । फार्मको अवलोकनमा आउने र स्थानीय उत्पादनको स्वाद लिन चाहनेहरुलाई आफ्नै उत्पादनको स्वाद चखाउने उदेश्यले रेष्टुरेण्ट सञ्चालनमा ल्याइएको वडा अध्यक्ष समेत रहनुभएका हरियाली ग्रुपका अनुगमन सदस्य अणबहादुर खड्काले जानकारी दिनुभयो ।

यस फार्ममा अहिले एक हजार लोकल कुखुरा, पाँच सय कालीज पालन गरिएको छ । १६ वटा पोखरीमा ४० हजार माछा पालन गरिएको यहाँ ‘पिसिङ’ (माछा जाल र बल्छिमा पार्ने) अनुभव समेत गर्न पाइने सुविधा छ ।

लेयर्स कुखुरा ११ हजार पालन गरिएको यस फार्म परिसरमा हरियाली कृषि सहकारी मार्फत उन्नत जातका बाख्रापालन समेत गरिएको छ । फार्ममा अहिले २५० बाख्रा रहेको र एकमहिना भित्रमा बोका, खसीहरु विक्रि गर्न सूरु गरिने सहकारीका अध्यक्ष डण्डपानी सापकोटाले जानकारी दिनुभयो । यस फार्ममा १७ जनाले नियमित रोजगार पाएका छन् ।