प्रेस चौतारीको २५औं स्थापना दिवसमा बिरामीलाई फलफुल वितरण

  • २२ माघ २०७९, आईतवार
  • 325 पटक पढिएको

म्याग्दी २२ माघ । प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीले २५औं स्थापना दिवस मनाएको छ । प्रेस चौतारी म्याग्दी शाखाले बेनी अस्पतालमा उपचाररत बिरामीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै फलफुल वितरण गरी स्थापना दिवस मनाएको हो । दिवसको अवसरमा बेनी अस्पतालमा उपचाररत विभिन्न १८ जना बिरामीहरुलाई मौसम अनुकुल हुने गरी स्याउ, केरा, अङ्गुरलगायत फलफुलहरु वितरण गरिएको थियो ।
स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै नेकपा एमाले म्याग्दीका उपसचिव तथा प्रचार विभाग प्रमुख राजकुमार थापाले प्रेस चौतारी व्यावसायिक र श्रमजीवि पत्रकारहरुको सङ्गठन भएको बताउनुभयो ।जिल्ला समन्वय समिति म्याग्दीको प्रमुख समेत रहनुभएका एमाले उपसचिव थापाले जिल्लामा निर्माणाधीन तथा अधुरा योजनाहरुको निर्माणकार्य पुरा गर्नका लागि आफूले सम्बन्धित निकायमा पहल गरिरहेको जानकारी दिनुभयो । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सह–इन्चार्ज प्रकाश पौडेलले प्रेस चौतारी नेपाल श्रमजीवी र क्रियाशील पत्रकारहरुको साझा सङ्गठन भएको बताउनुभयो । बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद सुवेदीले स्थापना दिवसमा बिरामीलाई फलफुल वितरण कार्यक्रम सराह्रनीय रहेको बताउँदै बेनी अस्पताल म्याग्दीमा निर्माण भैरहेको अस्पतालको भवन निर्माणकार्य अलपत्र अवस्थामा रहेकाले पत्रकारिताको माध्यमबाट खबरदारी आवश्यक रहेकोमा जोड दिनुभयो । प्रेस सेन्टर म्याग्दीका अध्यक्ष कमल खत्रीले जिल्लामा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरुको बीचमा व्यावसायिक एकता रहेको बताउनुभयो । कार्यक्रमका आयोजक र अतिथिहरुले बिरामीहरुलाई फलफुल वितरण गर्नुभएको थियो । कार्यक्रम प्रेस चौतारी म्याग्दी शाखाका अध्यक्ष प्रताप बानियाँको अध्यक्षता र स्वागत तथा सचिव अमित विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।