छन्त्याल सर्वमान्य फाउण्डेशनद्धारा रू १ करोडको कोष स्थापना

  • १९ माघ २०७९, बिहीबार
  • 461 पटक पढिएको

काठमाण्डाै १९ पुस । छन्त्याल जातिको उत्पत्ति,इतिहासको खोजी तथा भाषा,संस्कृतिको संरक्षण गर्ने उद्देश्यले स्थापनाको सातौ वर्षमा छन्त्याल सर्वमान्य फाउण्डेशनले रू १ करोडको कोष स्थापना गरेको छ । आज नेपाल छन्त्याल संघको केन्द्रीय कार्यालय मनमैजुमा आयोजित छन्त्याल जातिका संस्थापक अध्यक्ष तथा सर्वमान्य स्व. दिलबहादुर घरब्जाको नवौ स्मृति दिवसको अवसरमा कोषलाई सहयोग गर्ने स्वदेश तथा विदेशमा रहेका छन्त्यालहरुलाई कदर पत्र प्रदान गरि सम्मान गरियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिवासी तथा जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले अल्पसंख्य छन्त्याल जातिले इतिहास र भाषा संरक्षणको लागि ठूलो राशीको कोष स्थापना गर्नु भएकोमा धन्यवाद दिनु हुँदै, कोषले लक्ष्य प्राप्ती गरोस् भन्ने शुभेच्क्षा प्रकट गर्दै, सबै जातिले आर्थिक समृद्धि संगै भाषाको संरक्षण र सम्बद्र्धन गर्नु पर्ने बताउनु भयो । यसका लागि महासंघले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

त्यसैगरी कार्यक्रममा संस्थालाई अतुलनिय योगदान पु¥याउनु हुने संस्थाका पूर्व अध्यक्ष तथा संरक्षकहरु मनचिन घरब्जा छन्त्याल र चित्रबहादुर घरब्जा छन्त्याललाई नगद १ लाख सहित सम्मान पत्र प्रदान गरिएको छ । नेपाल छन्त्याल संघ र फाउण्डेशनको संयुक्त रुपमा आयोजित सो कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष मनमोहन बुढाथोकी छन्त्यालले र स्वागत मन्तव्य  फाउण्डेशनका कोषाध्यक्ष तथा छन्त्याल महिला संघका अध्यक्ष थममाया भलञ्जा छन्त्याले गर्नु भएको थियो ।

सो अवसरमा फाउण्डेशनका अध्यक्ष शिवप्रसाद घरब्जा छन्त्यालले कोषलाई स्वदेश लगायत बेलायत, अमेरिका, कोरिया, अष्ट्रेलिया तथा अन्य देशमा रहनु भएका ७९ जना छन्त्यालहरुले न्युनतम ११ हजार देखि २० लाखसम्म आर्थिक सहयोग प्रदान गरेको विवरण प्रस्तुत गर्नु भएको थियो । फाउण्डेशनका सचिव दिपबहादुर भलञ्जा छन्त्यालले संचालन गरेको सो कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा संरक्षक इन्द्रजीत भलञ्जा छन्त्याल लगायतले मन्तव्य राख्नु भएको थियो ।