विद्यार्थीहरुको रोजाईमा प्राविधिक शिक्षा

  • १९ माघ २०७९, बिहीबार
  • धिरन खत्री
  • 413 पटक पढिएको

म्याग्दी, १९ माघ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङकी रितु पुर्जाले कक्षा ८ उर्तिण गरेपछि प्राविधिक शिक्षा रोज्नुभयो । स्थानीय प्रभा माविमा कक्षा ८ उर्तिण गर्नुभएकी पुर्जाले कक्षा ९ देखि सोहि विद्यालयमै सञ्चालनमा रहेको प्राविधिक धारतर्फको ‘इलेक्ट्रिकल इन्जिनियरिङ’ अध्ययन गर्नुभएको हो । जलविद्युत गाउँको रुपमा विकास भैरहेको नारच्याङमा रोजगारको सुनिश्चिताको लागि आफुले साधारणतर्फको अध्ययन छाडेर प्राविधिक शिक्षा रोजेको पुर्जाले बताउनुभयो ।


‘‘भविश्यमा रोजगारको ग्यारेन्टीका लागि प्राविधिक धारतर्फ अध्ययन अगाडी बढाएको हुँ, गाउँमै कक्षा १२ सम्म इलेक्ट्रिकल इन्जिनियरिङ अध्ययन गर्न पाउने अवसर बनेपछि हामी हर्षित बनेका छौँ’’–पुर्जाले भन्नुभयो । पुर्जा जस्तै कक्षा १० मा अध्ययतरत सोनिया थजालीले पनि साधारणतर्फको शिक्षाबाट भविश्यमा लिने वाटो पहिल्याउन नसक्ने अवस्था रहेकाले नारच्याङमा धमाधम जलविद्युत आयोजना निर्माणधिन अवस्थामा रहेकाले रोजगारको सुनिश्चित हुने आसाले इलेक्ट्रिकल इन्जिनियरिङतर्फ अध्ययन सुरु गरेको बताउनुहुन्छ ।

२०७६ साउन देखि प्रभा माविले प्राविधिक धारतर्फ कक्षा ८ देखि १२ सम्म इलेक्ट्रिकल इन्जिनियरिङको पठनपाठन सुरु गरेको थियो । सुरुवातमा २१ जना विद्यार्थीबाट सूरु गरिएको यस प्राविधिक धारतर्फको पठनपाठनमा अहिले ६० जना बढी अध्ययनरत रहेका छन् । इलेक्ट्रिकल इन्जिनियरिङ अध्ययनका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका साथै रघुगंगा गाउँपालिका र पर्वत, बागलुङ, कास्की लगायतका जिल्लाबाट समेत विद्यार्थीहरु अध्ययनका लागि आएको विद्यालयका प्रधानध्यापक अनुमोल भण्डारीले बताउनुभयो ।


‘‘गाउँमै रोजगार सिर्जना हुने र जलविद्युत आयोजनाहरुमा रोजगारको अवसर सिर्जना हुने भएकाले यसतर्फ विद्यार्थीहरुको आकर्षण छ, तर प्रचार प्रसारको अभाब र शैक्षिक सत्र सुरु हुन ढिलाई भएका कारण उल्लेख्य मात्रामा विद्यार्थीहरुको संख्या बढाउन सकिएको छैन्,’’–उहाँले भन्नुभयो । पछिल्लो समय विद्यार्थीहरुले भविष्यमा रोजगारको सुनिश्चिताका लागि प्राविधिक शिक्षा रोज्न थालेका हुन् । अध्ययनपछि बेरोजगार बस्नु नपर्ने भएकाले चाहना अनुसारको प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण बढेको छ। गण्डकी प्रदेश सरकारले आवास सुविधासहितको निःशुल्क प्राविधिक शिक्षाको रुपमा एक पालिका एक प्राविधिक शिक्षा अनुसार २०७६ सालमा जलविद्युत गाउँको रुपमा चिनिएको नारच्याङ स्थित प्रभा माविमा इलेक्ट्रिकल इन्जिनियरिङको पढाई सुरु भएको थियो ।

९ वटा जलविद्युत आयोजना निर्माणधिन रहेको नारच्याङमा प्रयोगात्मक अभ्यास सहितको शिक्षण गरिदै आईएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेज गुरुङले बताउनुभयो । ‘‘ गाउँमा एक दजृन जलविद्युत आयोजना निर्माणधिन छन् , एक जलविद्युत आयोजनामा कम्तीमा २० जना बढी इन्जिनियरहरु आबश्यक पर्छ, तर प्राविधिक तर्फका जनशक्ति नहुँदा बाहिरकाले मात्रै अवसर पाउने अवस्था छ, अब भने यहाँबाट उत्पादन भएका जनशक्तिले यहाँका जलविद्युतहरुमा अवसर पाउनेछन, यसको महत्वको प्रचार प्रसार अझै फैलन सकेको छैन’’– अध्यक्ष गुरुङले भन्नुभयो ।

इलेक्ट्रिकल इन्जिनियरिङतर्फ ९ देखि १२ सम्म अध्ययन पुरा गरेपछि विद्यार्थीहरुले सव–इन्जिनियरको मान्यता पाउँछन् । प्राविधिक धारतर्फको यस अध्ययन पश्चात घरको वाईरिङ, फ्यान, जेनेटर, बेट्री र ट्रान्सफर्मर लगायतको विद्युतिय उपकरण मर्मत गर्न विद्यार्थीहरु सक्षम हुने विद्यालयका इलेक्ट्रिकल इन्जिनियर शिक्षक सुरज आचार्यले बताउनुभयो । जलविद्युत आयोजनालाई चाहिने जनशक्ति उत्पादनसंगै भविष्यमा रोजगारको लागि अवसर सिर्जना गराउन लागि प्राविधिक धारतर्फको पठनपाठन सुरु गरेको यस विद्यालयमा आगामी बैशाखमा २१ जना ओभरसियर ( सव–इन्जिनियर) पहिलो ब्याजमा उत्पादन हुने विद्यालयले जनाएको छ ।


यस विद्यालयमा निशुल्क छात्रावास, चमेनागृह लगायतको सुविधा संचालन भएको जनाइएको छ । न्यून खर्चमा आवासिय सुविधा सहित ‘इलेक्ट्रिकल इन्जिनियरिङ’ अध्ययन गर्न पाउने अवसरले विद्यार्थीहरु उत्साहित बनेका छन् । कक्षा ८ सम्मको अध्ययनका लागि पोखरा पुग्नुभएका अन्नपूर्ण गाउँपालिका–६ घारका नवराज बरुवालले प्राविधिक शिक्षाको महत्वका कारण आफु पोखराबाट फर्किएर ‘इलेक्ट्रिकल इन्जिनियरिङ’ अध्ययन थालेको बताउनुभयो । ‘‘ शिक्षाले जिवन बदल्नुपर्छ भन्ने मान्यताले म पोखराबाट फर्किएर प्राविधिक शिक्षा अध्ययन गर्न थालेको हुँ, अब १२ कक्षाको पढाई पुरा गरेपछि ओभरसियर सरहको अध्ययन पुरा हुन्छ’’–उहाँले भन्नुभयो ।


प्राविधिक शिक्षा सुरु भएको वडानम्वर ४ नारच्याङमो तीन वटा जलविद्युत आयोजनाले विद्युत उत्पादन गरिसकेका छन् भने ६ वटा जलविद्युत आयोजना निर्माणधिन रहेका छन । एक पालिका एक प्राविधिक शिक्षा अन्तरगत म्याग्दीमा अन्नपूर्ण र धवलागिरी गाउँपालिकामा इलेक्ट्रिकल इन्जिनियरिङ, रघुगंगा,मालिका र मंगलामा कृषि र बेनी नगरपालिकामा सिभिल इन्जिनियरिङको पठनपाठन हुदै आएको छ।

      

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l