सहिद दिवसको अवसरमा दौड प्रतियोगिता

  • १६ माघ २०७९, सोमबार
  • 415 पटक पढिएको

 

बेनी, १६ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारमा सहिद दिवस पारेर सोमबार दौड प्रतियोगिता भएको छ । पञ्चायत विरोधी आन्दोलनमा सहिद हुनुभएका पाउद्धारका सुरेश पुनको स्मृतिमा पाउद्धारको विभिन्न टोलका व्यक्ति र विद्यार्थीहरुको दौड प्रतियोगिता आयोजना गरिएको हो । ३२ जनाले प्रतियोगितामा भाग लिएका थिए ।

तीन किलोमिटर दुरिको संस्थागत दौड प्रतियोगितामा पाउद्धार माझ गाउँ प्रथम र पाउद्धार मावि दृतीय भएका छन् । प्रथमलाई रु. दश हजार र दृतीयलाई रु. पाँच हजार पुरस्कार प्रदान गरिएको थियो । व्यक्तिगत तर्फ विबेक तिलिजा प्रथम, दिपेन्द्र तिलिजा दृतीय र मिसन पाइजा तृतीय भएका छन् । प्रथम, दृतीय र तृतीयलाई क्रमश रु. नौ हजार, छ हजार र तीन हजार पुरस्कार प्रदान गरिएको छ ।

१.५ किलोमिटर दुरीको पाउद्धार माविका छात्र छात्राहरुबीच भएको प्रतियोगितामा प्रथम, दृतीय र तृतीयलाई क्रमश रु. एक हजार पाँच सय, एक हजार र पाँच सय पुरस्कार प्रदान गरिएको थियो । छात्रातर्फ आरोषी तिलिजा प्रथम, दिया पाइजा दृतीय र प्रतिज्ञा खाती तृतीय भएका छन् ।
छात्रतर्फ युदिप पुन प्रथम, डविन तिलिजा दृतीय र विशेष पाइजा तृतीय हुनुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनबहादुर पाइजाको अध्यक्षतामा भएको कार्यक्रममा सहिद सुरेशका दाजु राजु पुन, अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुन र वडा अध्यक्ष राजेश तिलिजाले पुरस्कार वितरण गर्नुभएको थियो ।

सहिद सुरेशका दाजु राजुले ३३ वर्षदेखि विभिन्न कार्यक्रम गरेर सुरेशको स्मरण गर्दै आएकोमा यसपाली दौड प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । गाउँका युवा र विद्यार्थीहरुलाई हौसला दिन दौड प्रतियोगिता आयोजना गरिएको पुनले बताउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष तिलिजाले नेपालको परिवर्तनमा योगदान गर्ने सहिदको सपना पुरा गर्नु अहिलेको दायित्व भएको बताउनुभयो । सो कार्यक्रममा विद्यालयका सहयोग दाता विजय तिलिजा पुन, दिलमाया तिलिजा पुन, वडा अध्यक्ष राजेश तिलिजा र खयरभारानी युवा क्लवलाई सम्मान पत्र प्रदान गरिएको थियो ।