म्याग्दीमा कुष्टरोगका नयाँ विरामीको संख्या शुन्य

  • १५ माघ २०७९, आईतवार
  • 387 पटक पढिएको

म्याग्दी १५ माघ । म्याग्दीमा कुष्टरोगका नयाँ विरामीको संख्या शुन्यमा झरेको छ । दुई आर्थिक बर्षदेखि जिल्लामा कुष्टरोगका नयाँ विरामी पहिचान नभएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । ७० औँ विश्व कुष्टरोग दिवसका अवसरमा बेनीमा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रमा स्वास्थ्य कार्यालय, म्याग्दीका प्रमुख एकनारायण लम्सालले जिल्लामा कुष्ठरोगका नयाँ विरामी पहिचान नभएको बताउनुभयो ।

‘‘दुईबर्ष यता जिल्लामा स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा कोही पनि नयाँ कुष्टरोगका विरामी दर्ता भएका छैनन्, जिल्ला बाहिरका स्वास्थ्य संस्थामा पुगेर उपचार गरेकाहरुको विवरण जिल्लामा अभिलेख हुँदैन, केहिले जिल्ला बाहिरबाट कुष्ठरोगको उपचार गराएको हुनसक्छ हाम्रो अनुमान छ’’–कार्यालय प्रमुख लम्सालले भन्नुभयो ।


कार्यालयका अनुसार, दुई बर्ष अघि म्याग्दीमा कुष्टरोगका विरामीको संख्या १३ जना थियो । अहिले दुई बर्ष अघि नै पहिचान भएका पाँच जनाले उपचार गराइरहेका छन् । दुई बर्ष अघि प्रति १० हजार जनसंख्यामा १.०९ प्रतिशतमा कुष्ठरोग देखिएकोमा अहिले कुष्ठरोगको संक्रमणदर घटेर ०.४७ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

कार्यक्रममा बोल्दै बेनी अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डाक्टर संकर लामिछानेले कुष्टरोगको पहिचान समयमै भएर उपचार गरेमा रोग निको हुने र कुष्टरोगका कारण हुनसक्ने अपांगता लगायतका स्वास्थ्य समस्या समेत नहुने भएकाले लक्षण देखिएका र पहिचान भएका विरामीहरुले उपचार गराउनुपर्ने बताउनुभयो । उहाँले ६ देखि १२ महिनासम्म नियमित औषधि सेवन गरेमा कुष्टरोगको उपचार हुने भएकाले कुष्टरोगलाई भेदभाव र लान्छनाको दृष्टिकोणबाट हेर्न नहुने बताउनुभयो ।

पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षता,स्वास्थ्य कार्यालयका सिनियर अहेव अधिकृत सोमनाथ उपाध्यक्षको स्वागत र सूचना अधिकारी गणेश सुवेदीको सहजीकरणमा सम्पन्न कृष्ठरोग सम्वन्धी अन्तरक्रिया कार्यक्रममा पत्रकार हरीकृष्ण गौतमले मन्तव्य राख्नुभएको थियो ।