जलजलामा प्रथम ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता सुरु

  • १३ माघ २०७९, शुक्रबार
  • 367 पटक पढिएको

 

म्याग्दी, १३ माघ । जलजला गाउँपालिकाको आयोजनामा अन्तर मावि स्तरिय प्रथम राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । जलजलाको वडानम्वर ४ स्थित मोहनचोकमा शुक्रबार देखि संचालित विद्यालयस्तरको खेलकुद प्रतियोगिताको उदघाटन गर्दै गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताले विद्यार्थीलाई शैक्षिक विकाससँगै खेलकुद क्षेत्रमा पनि अब्बल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

उहाँले गाउँपालिकाले विद्यालयस्तरको शिक्षा र खेलकुदसंगसंगै अगाडी बढाउन योजनाबद्ध कार्यक्रमहरु निर्माणमा लागेको समेत जानकारी गराउनुभयो । गाउँपालिकास्तरबाट छनौट हुने खेलाडीहरुले जिल्ला स्तर हँुदै प्रदेश र राष्ट्रिय स्तरमा समेत सहभागीता जनाउनका लागि अनुशासित भएर खेल प्रतिभाको प्रदर्शन गर्न अध्यक्ष आचार्यले खेलाडीहरुलाई आग्रह गर्नुभएको थियो ।


१५ गतेसम्म संचालन हुने प्रतियोगितामा गाउँपालिकाभित्रका १६ वटा माध्यमिक तहका विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका छन् । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने विद्यालयलाई नगदसहित साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने गाउँपालिकाका शिक्षा अधिकृत त्रिविक्रम आचार्यले जानकारी दिनुभयो । प्रतियोगितामा महिला र पुरुषतर्फ भलिबल र एथलेटिक्स विद्यातर्फ विभिन्न १३ इभेन्टमा विद्यार्थीहरुबिच प्रतिस्पर्धा हुनेछ । कार्यक्रममा निमित्त प्रमुख प्रशासकिय अधिकृत फडिन्द्रप्रसाद आचार्य लगायतको उद्घाटन कार्यक्रममा उपस्थित रहेको थियो ।