तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि रघुगंगा माविलाई (तस्बिर सहित)

  • १० माघ २०७९, मंगलवार
  • 607 पटक पढिएको

म्याग्दी, १० माघ । रघुगंगा गाउँपालिकाको आयोजनामा सम्पन्न अन्तर मावि स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि रघुगंगा माध्यमिक विद्यालयले जितेको छ । मंगलवार वडा नम्बर ३ स्थित रघुगंगा माविको खेलमैदानमा सम्पन्न प्रतियोगितामा १५ स्वर्ण, ४ रजत र १ कास्य पदक हात पार्दै रघुगंगा मावि प्रथम हुन सफल भएको हो ।


त्यसैगरि प्रतियोगितामा ५ स्वर्ण, १३ रजत र ४ कास्य पदक सहित मुक्तिधाम मावि दोस्रो र ३ स्वर्ण, २ रजत र ३ कास्य पदक सहित अमर मावि पाखापानी तेस्रो हुन सफल भएका छन् । प्रथमलाई ५० हजार, द्धितियलाई ३० हजार रुपैयाँ र तितृय हुन सफल विद्यालयलाई २० हजार रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ ।


लगातार तीन पटक नै बिजेता बन्न सफल रघुगंगा माविले रनिङ शिल्ड पच गरेको छ । प्रतियोगितामा महिला र पुरुषतर्फ भलिबल र एथलेटिक्स विद्यातर्फ विभिन्न १३ इभेन्टमा विद्यार्थीहरुबिच प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगिताको हरेक विद्यामा स्वर्ण, रजत र कास्य पदक बिजेतालाई नगद एक हजार रुपैया, ७ सय र ५ सय रुपैयाँका दरले पुरस्कृत गरिएको गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा गाउँपालिकाभित्रका १० वटा माध्यमिक तहका विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य बिमला गौचन, गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारी, उपाध्यक्ष प्रेमकुमारी पुन, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल, शिक्षा अधिकृत कृष्णप्रसाद सुवेदी, वडा नम्बर ३ का वडा अध्यक्ष खिमबहादुर शाही लगायतले पदक विजेता खेलाडी र उपाधि बिजेता विद्यालयलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।


पुरस्कार वितरण गर्दै प्रदेश सभा सदस्य गौचनले प्रतियोगिताले विद्यार्थीहरुमा रहेको खेल प्रतिभाको पहिचान गरेको बताउँदै विद्यार्थीहरुले अध्ययन संगै खेलकुदमा समेत अघि बढ्न सकेमा भविश्य उज्वल रहेकोमा जोड दिनुभयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष भण्डारी, प्रमुख प्रशासकीय अधिकृत ढकाल र वडा नम्बर ३ का अध्यक्ष शाहीले प्रतियोगिताबाट पहिचान भएका उत्कृष्ट खेलाडीहरुलाई जिल्ला स्तरमा समेत सहभागीता गराउने बताउँदै खेल क्षेत्रमा समेत विद्यार्थीहरुले आफ्नो पहिचान बनाउन सक्नेमा जोड दिनुभयो ।