अमर माविमा एक प्रदेश एक कम्प्युटर ल्याब स्थापना
- ८ माघ २०७९, आईतवार
- 783 पटक पढिएको
म्याग्दी ८ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा रहेको अमर माध्यमिक विद्यालयमा ‘एक प्रदेश, एक कम्प्युटर ल्याब स्थापना भएको छ । अमेरिकामा रहेका नेपालीहरुको संस्था एसोसियसन अफ नेपलिज इन मिडवेष्ट अमेरिका (आन्मा)को प्रायोजनमा सन २०२१ म कोलम्बस म्याराथन गर्नुभएका ओम दाहालको नेतृत्वमा संकलन भएको सहयोग रकमबाट यस विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिएको हो ।
कोलम्बस म्याराथनको अभियान‘एक प्रदेश एक कम्प्युटर ल्याब’अन्तरगत अमर मावि सहित देशका विभिन्न १० वटा सकरकारी विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिएको अभियान्ता दाहालले बताउनुभयो । उहाँका अनुसार, १० वटा कम्प्युटर ल्याब स्थापना गर्न ३०८ जना सहयोगदाता मार्फत रु ३८ लाख ४४४ रकम संकलन भएको थियो । अमर माविको ल्याब स्थापनामा आन्माका कार्यसमिति सदस्य सन्दिप सिंहले मात्रै रु ३ हजार अमेरिकी डलर सहयोग गर्नुभएको थियो ।
विद्यालयमा आयोजिक एक कार्यक्रमका बिच उक्त कम्प्युटर ल्याब विद्यालयलाई हस्तान्तरण गरिएको छ । विद्यालयलाई १० थान कम्प्युटर, एक सेट प्रोजेक्टर र एक थान प्रिन्टर उपलब्ध भएको छ भने इन्टरनेट समेत जडान गरिएको विद्यालयका सहायक प्रधानध्यापक कप्रसाद थापाले जानकारी दिनुभयो । कार्यक्रममा समन्वयकर्ता कमला दाहाल र संस्थाका नेपाल प्रतिनिधि कुन्दन शर्माले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर बुढा र प्रधानध्यापक पृर्थबहादुर थापालाई उक्त कम्प्युटर, प्रोजेक्टर र प्रिन्टर हस्तान्तरण गर्नुभएको थियो । उक्त कम्प्युटर ल्याबको नाम मुख्य सहयोगदाता सन्दिप सिंहकै नामबाट नामाकरण समेत गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि समन्वयकर्ता कमला दाहालले ग्रामीण भेगमा रहेको विद्यालयमा कम्प्युटर ल्याब स्थापना भएपछि आधुनिक सूचना प्रविधिकको पहुँच र प्रयोगबाट विद्यालयका शैक्षिक प्रगति र विद्यार्थिहरुलाई कम्प्युटर शिक्षा लिन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा समन्वयकर्ता गम पुन, कुन्दन शर्मा र वडा अध्यक्ष थकबहादुर पाईजाले सहयोगदाताहरुलाई धन्यबाद ज्ञापन गर्दै ल्याबको दिर्घकालिन उपयोग गरि विद्यार्थिहरुमा सरल र सहज कम्प्युटर शिक्षाको अध्ययनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
आन्मा संस्थाले म्याग्दीको अमर मावि संगै बैतडीमा दुई, दैलेखमा २, प्युठानमा १, सिन्धुपाल्चोकमा १, सप्तरीमा १, तेह्रथुममा १ र इलाममा १ वटा सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिसकेको जनाएको छ । यस विद्यालयले २०६७ सालदेखि नै कम्प्युटर बिषयको पठनपाठन सुचारु गरेको थियो । तत्कालिन समयमा चिमखोले सहयोग समिति काठमाण्डौबाट प्राप्त भएका कम्प्युटर मार्फत पठनपाठन सुरु गरेपनि पछिल्लो समय पुराना कम्प्युटर जिर्ण भएको अवस्थामा आन्मा संस्था मार्फत ल्याब नै स्थापना भएपछि राहत भएको विद्यालयले जनाएको छ । १३० जना विद्यार्थी अध्ययनरत यस विद्यालयमा कक्षा ५ देखि १० सम्म कम्प्युटर बिषयको पठनपाठन हुँदै आएको छ । विद्यालयमा दिवंगत सुवेदार नरजङ पुनको नाममा क्याप्टेन पदमबहादुर पुन र ल्याप्टेन लोकबहादुर पुनको परिवारले कम्प्युटर हल निर्माण गरिदिनुभएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुढाको अध्यक्षता, सहायक प्रअ थापाको स्वागत र चिमखोले फेसवुक समहूका अध्यक्ष गणेश पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।