पालिका स्तरीय भलिबलमा पुरुषतर्फ रघुगंगा र महिलातर्फ अन्नपूर्ण विजयी

  • ६ माघ २०७९, शुक्रबार
  • 725 पटक पढिएको

बेनी, ५ पुस : बेनीमा सञ्चालित सातौँ म्याग्दी महोत्सवमा आयोजित खुल्ला पालिका स्तरीय भलिबल प्रतियोगितामा पुरुषतर्फ रघुगंगा गाउँपालिका र महिलातर्फ अन्नपूर्ण गाउँपालिका बिजयी भएका छन् । शुक्रवार भएको फाइनलमा अन्नपूर्णलाई सोझो तीन सेटमा हराउँदै पुरुषतर्फ रघुगंगाले उपाधी चुमेको हो ।
प्रतियोगिताको फाइनल खेलमा अन्नपूर्ण गाउँपालिकालार्ई १९–२५, १३–२५ र १७–२५ को सेटमा पराजित गर्दै रघुगंगा गाउँपालिका प्रथम हुन सफल भएको जिल्ला भलिबल संघ म्याग्दी अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो । भलिवल प्रतियोगितामा प्रथम, द्वितिय हुनेलाई मेडल, ट्रफी,प्रमाणपत्रसहित क्रमशः नगद रु ८८ हजार ८८८ र रु ५५ हजार ५५५ पुरस्कार प्रदान गरिएको छ ।
त्यसैगरि महिला भलिबलतर्फ धवलागिरि गाउँपालिकालाई सोजो ३ सेटमा पराजित गर्दै अन्नपूर्ण गाउँपालिकाले उपाधि जितेको हो । प्रतियोगितामा धवलागिरिलार्ई २२–२५, १७–२५ र १०–२५ को सेटमा पराजित गर्दै अन्नपूर्ण गाउँपालिका प्रथम हुन सफल भएको थियो । महिला भलिबल प्रतियोगितामा प्रथम हुने टिम नगद रु ५५ हजार पाँच सय ५५ र दोस्रो हुनेले रु ३३ हजार तीनसय ३३ नगद पुरस्कारको साथमा ट्रफी, मेडल, र प्रमाणपत्रसहित पुरस्कृत भएका छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, व्लकर, सर्भर, डिफेन्डर र सेटरलाई समेत नगद पुरस्कार र ट्रफिद्धारा पुरस्कृत गरिएको महोत्सवका प्रतियोगिता संयोजक एवम म्याग्दी उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य हरि भण्डारी, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल, बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठ, द्धितिय उपध्यक्ष लिलाराम गौतम लगायतले बिजेता र उपबिजेता खेलाडीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो ।