म्याग्दी महोत्सवको दोस्रो दिन : चर्चित कलाकारहरुको प्रस्तुती र रत्यौली प्रतियोगिता

  • २९ पुष २०७९, शुक्रबार
  • 533 पटक पढिएको

म्याग्दी २९ पुस । बेनीमा जारी सातौँ म्याग्दी महोत्सवमा आज चर्चित कलाकारहरुको साँगेतिक प्रस्तुती रहने भएको छ । शुक्रवार गायिका एलिना चौहान, प्रकाश दुतराज, रवि कार्की, शक्ति छिनाल, राजीन भण्डारी, प्रकाश सुनार, रामकुमारी पुन लगायतका कलाकारहरुले आफ्नो प्रस्तुती राख्नेछन् । त्यसैगरि म्याग्देली मोडल विनु कार्की र फ्रि स्टार डान्स ग्रुपको नृत्य संगै कालरात्री व्याण्ड र डायल ९११ व्याण्डको समेत साँगेतिक प्रस्तुती रहने म्याग्दी उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष एवम् सांस्कृतिक उपसमिति संयोजक सुविन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार, आजदेखि रत्यौली प्रतियोगिता समेत सञ्चालन हुने भएको छ ।

माघे संक्रान्ति पर्वको अवसरमा आयोजित गण्डकी प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, ब्यापार मेला संगीतमय बन्न थालेको छ । महोत्सवमा खुल्ला लोकदोहोरी प्रतियोगिता, गण्डकी प्रदेशस्तरी लोकतारा, रत्यौली, पुख्र्यौली नृत्य, खुल्ला लोक नृत्य प्रतियोगिता र राष्ट्रिय तथा स्थानीय चर्चित कलाकारको प्रस्तुती समावेश गरिएको छ । विहिवार चर्चित गायक हेमन्त कान्छा रसाईली, बालचन्द्र बराल, सम्भोज मल्ल, गायिका शोभा कार्की, शान्ता परियार, मिलन विश्वकर्मा लगायतका कलाकारहरुले साँगेतिक प्रस्तुती राख्नुभएको थियो ।