मुदीका प्रेमबहादुर घर्तिमगरको संघर्ष ‘ ६ दशकदेखि घुम्तीगोठमा गाईभैँसी पालन’

  • २५ पुष २०७९, सोमबार
  • कमल खत्री
  • 981 पटक पढिएको

म्याग्दी २७ पुस । धवलागिरि गाउँपालिका–४ मुदीका प्रेमबहादुर घर्तिमगर उमेरले ७४ बर्ष पार गर्नुभयो । उमेरले बुढ्यौली लागेपनी उहाँको दैनिकी भने घुम्ती गोठमै वित्ने गरेको छ । पुख्र्यौली रुपमा गरिँदै आएको घुम्ती गोठ राखेर गाईभैँसी पालन गर्ने पेसालाई घर्तिमगरको परिवारले निरन्तरता दिएका छन् ।


६ बहिनी छोरी र २ भाई छोरा समेतको पारिवारीक जिम्मेवारीलाई घर्ति मगर र उहाँकी श्रीमती इनदेवीले घुम्ती गोठ राखेर जिविकोपार्जन गर्दै आउनुभएको छ । हिउँदमा वेसीका फाँटमा झरेका गाईभैँसीका गोठलाई घर्तिमगरको दम्पतीले बर्खायाममा लेकका बुकीसम्मै पु¥याउने गर्छन् । घर्तिमगरको दम्पतीले यसरी गोठमै करिब ६ दशक समय विताइसकेका छन् ।


उहाँहरुको गोठमा अहिले ३२ वटा भैँसी र २२ वटा गाई रहेका छन् । गोठमा रहेका गाइभैँसीमध्ये १२ वटा भैँसी र ७ वटा गाई दुहुना छन् । गाई भैँसीको दुधबाट उत्पादन हुने घिउबाट आम्दानी हुने भएपनि गाइभैँसी नै विक्रि भने न्यून हुने गरेको प्रेमबहादुर बताउनुहुन्छ । गोठमा गाइभैँसीको घिउलाई प्रतिमाना रु १ हजार २०० मा विक्रि हुने गरेको छ ।


‘‘ भुगोल टाढा छ, अनकन्टार जंगल, भिर, पहाडसम्मै पुगेर गोठ राख्छौँ, यहाँ गाईभैँसी नै किन्न आउनेको संख्या कम छ, थोरै मात्रामा राँगा र खेतवारी जोत्ने उदेश्यले बर, गोरु विक्रि हुन्छन, दुख अनुसारको प्रतिफल नभएपनि हामीले गोठाला जीवनलाई निरन्तरता दिएका छौँ’’–उहाँले भन्नुभयो ।


घर्तिमगरको पुर्खाहरुले समेत गोठ राखेर नै पशुपालन गर्दैै आउनुभएको थियो । बुबा दलप्रसादले समेत पुर्खाहरुले गर्दै आएको भेडा सहित गाईभैँसी पालन गरेको कारण आफुले समेत पुर्खाको पेसालाई निरन्तरता दिएको प्रेमप्रसाद बताउनुहुन्छ । प्रेमप्रसादका ६ भाई दाजुभाईमध्ये ४ परिवारले गाई भैसी र भेडापालन गर्नुभएको थियो । अधिकाँशले अहिलेपनि घुम्ती गोठ राखेर गाईभैँसी पालन गर्दै आउनुभएको छ ।
हिउँदयाममा लेकबाट मुदीको फाँटमा झरेको घुम्ती गोठमा अहिले उहाँकी दुई छोरीहरुले घर्तिमगरको दम्पतीलाई सारथि बनेर सहयोग गर्दै आउनुभएको छ । यहाँका घुम्ती गोठलाई अर्चे, भारबाङ, धुलीबास, तिरिजा, लामठारा, सेतढुंगा लगायतका ठाउँमा पु¥याउने गरिन्छ । भीर उक्लिएर बुकीसम्म पुग्नुपर्ने घर्तिमगर दम्पतीको दैनिकीमा उकाली–ओराली, अनकन्टार जंगलको बास, खोला–नाला, बाढी, पहिरो, बर्खाको अविरल बर्षा र हिउँदको हिमपात जिवनमा दोहोरीरहने संघर्षका पाटाहरु हुन् ।
छोराछोरीहरुले गोठालो पेसा छाड्न अनुरोध गरेपनि उहाँहरुको मन भने अझै गोठालो छाडेर घरमा बस्न मानेका छैन् । ‘‘हामीले गोठमै जीवन फाल्यौँ, छोराछोरी हुर्कायौँ, पढायौँ, कोहि विदेशसम्म पुगेका छन, बाबु बाजेले पनि गोठ राखेर जीवन विताए, हामीले पनि च्याट्ट छोड्न सकेका छैनौँ’’–प्रेमबहादुरकी पत्नी इनदेवी घर्तिमगरले भन्नुभयो ।


‘मुदीको साहु’ को नामले पारिवारीक विरासत बोकेका घर्तिमगरको परिवारले पुख्यौली रुपमा गाईभैँसी र भेडापालन संगै ठूलो मात्रामा खेतीवाली समेत गर्ने गर्थे । आफुहरु सानो छँदा बुबाआमाले १ सय मुरीसम्म कोदो उत्पादन गरेको प्रेमबहादुर स्मरण गर्नुहुन्छ । अहिलेपनि पशुपालन संगै परम्परागत खेतीको रुपमा कोदो, मकै, जौँ, गहुँ लगायतको खेतीलाई उहाँको परिवारले निरन्तरता दिएका छन् ।
अध्ययन र रोजगारको शिलसिलामा घर्ति मगर दम्पतीको जेठा छोरा र कान्छी छोरी जापान र कान्छा छोरा चिन पुगेका छन् । थाईली छोरी जगदेवी स्वास्थ्यकर्मी र काँइली कमला शिक्षक हुनुहुन्छ । जेठी, माईली र साईली छोरीले गोठमा बस्नुपरेको कारण अध्ययनको उचित अवसर नभएकाले बुबा आमाकै गोठाला पेसामा आफुलाई समाहित गर्नुभएको छ । बुबा आमाले गोठ नछाडेको कारण आफुहरु पनि उहाँहरुकै दैनिकीमा लागेको साईली छोरी छानदेवी बताउनुहुन्छ ।
‘‘घरमा गोठ भएपछि हामी पनि स्कुल नगएर गोठमै भुल्यौँ, पछि पौढ शिक्षा मार्फत सामान्य लेखपढ मात्रैमा सिमित भयौँ, अहिले बुबा आमासंगै गोठमै गाईभैँसीको स्याहार सुसार र रेखदेख गर्छौ’’–उहाँले भन्नुभयो । गाईभैँसीलाई चरनले मात्रै नपुग्ने भएकाले हिउँदयामको लागि खर, सुकेको घाँस र रुखको डाले घाँसको समेत बन्दोबस्त गर्नुपर्ने छानदेवीको भनाई छ ।


१३ उमेरदेखि नै गोठ बस्न थाल्नुभएका घर्तिमगर हिजोआज भने गोठालो संस्कृति हराउँदै गएको चिन्तित हुनुहुन्छ । उमेरका कारण गोठमा बस्न सक्ने अवस्था कमजोर बन्दै गएपछि उहाँले कसैले गोठ किनेर चलाए हुन्थ्यो भन्ने आसामा हुनुहुन्छ । ‘‘ पहिले यहाँका हरेक घरबाट गोठमा गाई, भैँसी र भेडाबाख्रा पाल्न गोठाला बस्ने चलन थियो, पछिल्लो समय यो प्रचलन हराउँदै गएको छ, अहिले हामी केही हातमा गन्न मिल्ने मात्रै गोठाला छौँ, कसैले गोठ राखेर गाईभैँसी पालन गर्न चाहेमा मैले विक्रि गर्ने योजना बनाएको छु’’– घर्तिमगरले भन्नुभयो ।
एकै ठाउँमा मात्रै राखेर पालन नगरिने र घुम्ती रुपमा गोठ सारिरहनुपर्ने भएकाले पनि प्रेमबहादुरलाई गोठालो जीवन सास्तीपूर्ण बन्न थालेको छ । घरदेखि गोठसम्म खाद्यान्न लगायतका खर्चको भारी ल्याउन जान समेत कठिन हुन थालेको उहाँको अनुभव छ । पुख्यौली पशुपालनलाई व्यावसायिकरण बनाउन नसकेको र परम्परागत र निर्वाहमुखी पशुपालनबाट जिविकोपार्जन हुन नसकेपछि पछिल्लो समय ग्रामिण भेगमा घुम्ती पशुपालनको प्रचलन हराएर जान थालेको छ ।  राससबाट          

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l