पशु चौपायामा पूर्णखोप सम्वन्धी पालिकास्तरीय अभिमुखिकरण

  • २५ पुष २०७९, सोमबार
  • धिरन खत्री
  • 551 पटक पढिएको

म्याग्दी, २५ पुस । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र म्याग्दीले किसानले पालेका पशुचौपायालाई निरोगी राख्न र सुरुवा रोगबाट बचाउन पुर्ण खोपसम्वन्धी पालिकास्तरीय अभिमुखिकरण संचालन गरेको छ। पशुहरूमा आउने रोगको प्रकोप नियन्त्रण गर्न र बिरामी हुनबाट जोगाई कृषकलाई क्षति पुग्न नदिन पुर्णखोप संचालन गर्नका लागि पालिकास्तरमा अभिमुखिकरण गरिएको केन्द्रका पशुचिकित्सक जीवनप्रसाद शर्माले बताउनुभयो ।

केन्द्रले बेनी नगरपालिका, धवलागिरी, मालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा पशुचौपायामा पूर्णखोप सम्वन्धी गोष्ठी सम्पन्न गरेको छ। भने, मंगला चौपायामा पूर्णखोप सम्वन्धी अभिमुखीकरण गर्नबाकी रहेको पशुचिकित्सक आचार्यले जानकारी दिनुभयो । पालिकास्तरमा पशुखोप सम्वन्धी अभिमुखीकरण प्रश्चात करार कर्मचारी नियुक्त गरेर खोप लगाउने अभियान संचालन हुन्छ ।

किसानले पालेका भैंसीमा देखिने भ्यागुते र चरचरेविरुद्धको खोप, भेडा बाख्रामा पीपीआर, कुकुरमा रेबिजविरुद्धको खोप, बङ्गुरमा स्वाइनफिभरविरुद्धको खोप लगाउनका लागि पालिकास्तरमा करार कर्मचारी नियुक्त गरेर खोप लगाउने केन्द्रको तयारी छ । जिल्लामा पशुचौपाया एक लाख १० हजार भन्दा बढी किसानले पालेका छन् । सबै पशुलाई खोप निःशुल्क लगाइने भएकाले अभियान सञ्चालन भएका बेला खोजीखोजी खोप लगाउन विज्ञ केन्द्रले अनुरोध गरेको छ ।


केन्द्रले सोमबार बेनी नगरपालिकाका जनप्रतिनिधिहरुलाई पशुचौपायामा पूर्णखोप सम्वन्धी अभिमुखीकरण गरेको छ । नगरप्रमुख सुरत केसी, उपप्रमुख ज्योती लामिछाने, प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल र वडाअध्यक्ष लगायत सदस्यहरुको उपस्थित रहेको गोष्ठीमा केन्द्रका पशु चिकित्सक आचार्यले पशुमा लाग्ने रोग, लक्षण र पशुमा लगाउने खोप सम्वन्धी जानकारी गराउनुभएको थियो । गोष्ठीमा नगरप्रमुख केसीले पशुहरुमा पूर्ण खोप कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन नगरपालिकाले समन्वय गर्ने बताउनुभयो । अभिमुखीकरण कार्यक्रमको संचालन अधिकृत रामकृष्ण सुवेदीले गर्नुभएको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l