राहुघाट जलविद्युतको ६० प्रतिशत सुरुङ निर्माण सकियो (फोटो फिचर)

  • २२ पुष २०७९, शुक्रबार
  • कमल खत्री
  • 419 पटक पढिएको

कमल खत्री
बेनी, २२ पुस । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको सुरुङ निर्माणको कामले गति लिएको छ । ठेकेदार कम्पनीको ढिलासुस्तीका बिच अन्यौलग्रस्त बनेको आयोजनामा पछिल्लो समय ठेकेदार कम्पनीले जनशक्ति, मेसिन उपकरण र स्रोत साधन परिचालनमा क्षमता बढाएपछि आयोजनाले गति लिएको हो ।
प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर प्रर्वद्धक रहेको आयोजनाले करिब ६० प्रतिशत सुरुङ निर्माण सकिएको जनाएको छ । राहुघाट जलविद्युतमा कुल ६ हजार २७० मिटर सुरुङमार्ग निर्माण गर्नुपर्नेमा हालसम्म तीन हजार ७०० मिटर सुरुङ निर्माण सकिएको आयोजनाका प्रोजेक्ट म्यानेजर राजबहादुर बिष्टले जानकारी दिनुभयो । उहाँका अनुसार, तीन वटा अडिटबाट सुरुङ निर्माणलाई तिब्रता दिइएको छ ।
मासिक १८० मिटर सुरुङ निर्माण गर्ने योजना अनुसार कामलाई गति दिएको यस आयोजनाको आगामी १ बर्षभित्र सुरुङको ब्रेकथ्रु गर्ने लक्ष्य लिइएको छ । अहिलेसम्म ४० प्रतिशत भौतिक र ५० प्रतिशत विक्तिय प्रगति भएको यस आयोजनामा सुरुङमार्ग संगै बाँध र विद्युतगृहतर्फको पूर्वाधार निर्माणले समेत गति लिएको छ । सर्च साफ्टको सुरुङ निर्माण गरेर लाइनिङको काम अघि बढाइएको छ भने प्रेसर साफ्टको सुरुङ निर्माणको काम भैरहेको छ । प्रेसर साफ्टको १ हजार ५० मिटर सुरुङमध्ये ६८८ मिटर बढी सकिएको छ ।
रघुगंगा गाउँपालिका–४ दग्नाम र ५ झिँको सिमानामा बाँध रहने यस आयोजनामा बाँधतर्फ फाउण्डेशनको काम गरिएको छ । बाँधस्थलमा पानी बग्ने ठाउँ,पानी थिग्राउने स्थल, पावर इन्टेक, मुख्य सुरुङमार्ग लगायतका पूर्वाधार निर्माणको काम समेत भैरहेको आयोजनाले जनाएको छ । वडा नम्बर ३ पिप्लेको तिल्केनीचौरमा विद्युतगृह रहने क्षेत्रमा समेत पूर्वाधार निर्माण गरि इलेक्टोमेकानिकल तर्फको काम भैरहेको आयोजनाका प्रोजेक्ट म्यानेजर बिष्टले बताउनुभयो । उहाँका अनुसार, ठेकेदार कम्पनीले आयोजनामा ३ सय बढी मजदुर दैनिक रुपमा परिचालन गर्ने गरेको छ ।

भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)सँग २०७४ मङ्सिरमा ठेक्का सम्झौता भएको थियो । वि.स. २०७५ देखि कार्यक्षेत्रमा निर्माण कार्य अघि बढाएको ठेकेदार कम्पनीको कूल ४५ महिनाको ठेक्का अवधिको म्याद सन २०२२ फेब्रुअरीमा सकिएपछि सन २०२३ अगस्त सम्मका लागि पुनः म्याद थप भएको छ ।
जिल्लामा पूर्वाधार निर्माणमा ढिलासुस्तीको नमुना बनेको राहुघाट जलविद्युत आयोजनामा कोरोना, बाढी पहिरो लगायतका समस्याहरु देखाएर निर्माण कार्यलाई प्रभावित बनाएको ठेकेदार कम्पनी र आयोजनासंग निरन्तर छलफल र स्थानीय स्तरमा उचित वातावरण बनाएर निर्माण कार्यलाई पूर्णता दिन रचनात्मक पहल भैरहेको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी बताउनुहुन्छ । यस बर्ष ठेकेदार कम्पनीले बाँधस्थलमा समेत क्रसर स्थापना गरेकाले बर्खायाममा समेत निर्माण कार्यले निरन्तरता पाउने र आयोजनाले थप गति लिने अपेक्षा गरिएको अध्यक्ष भण्डारीले बताउनुभयो ।
नेपाल विद्युत प्राधिकरणको शत प्रतिशत शेयर लगानीमा वि.स. २०७३ मा स्थापना भएको रघुगंगा हाइड्रोपावर लिमिटेडसँग २०७४ मंसीरमा ठेक्का सम्झौता गरेको जेपीले २०७५ असारमा पहुँचमार्ग निर्माण गरि २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो । अर्धजलाशययुक्त बाँध रहने यस आयोजनाले वार्षिक चौबिस करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत उत्पादन गर्ने लक्ष्य सहित २०७५ चैतमा विद्युत खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो ।
प्राधिकरणले सन १९९८ मा सम्भाव्यता अध्ययन गरेको यस आयोजनालाई यस अघि वि.स. २०७० मा नै निर्माण सम्पन्न गर्ने गरि भारतीय ठेकेदार कम्पनी आईभिआरसिएल प्रोजेक्ट्स लिमिटेडले ठेक्का लिएको थियो । आइभिआरसिएल कमजोर आर्थिक अवस्थाका कारण टाट पल्टिएपछि चार वर्षमा दश प्रतिशत पनि काम नगरी पन्छिएको थियो । यसअघि ३२ मेगावाटमा डिजाइन गरिएको यो आयोजनाको क्षमता ८ मेगावाट बढाएर अहिले ४० मेगावाट क्षमतामा निर्माण भैरहेको छ            

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l