न्यू धौलागिरिको इकाईगत साधारणसभा शुरु

  • २० पुष २०७९, बुधबार
  • 330 पटक पढिएको

म्याग्दी २० पुस । बेनीमा मुख्य कार्यालय रहेको न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्था लि.ले मंगलबारदेखि इकाईगत २३ औ साधारणसभा शुरु गरेको छ । मुख्य कार्यालय इकाईको बेनीमा भएको साधारणसभाको गण्डकी प्रदेशसभा सदस्य बिमला गौचनले उद्घाटन गर्नुभयो । साधारणसभा उद्घाटन गर्नुहुदै प्रदेशसभा सदस्य गौचनले उत्पादनमुलक क्षेत्रमा लगानी बढाएर स्वरोजगार र आत्मनिर्भर बनाउने अभियानमा सहकारीहरु लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष स्व. राम गौचनकी धर्मपत्नी रहेकी गौचनलाई प्रदेशसभा सदस्यमा निर्वाचित भएकोमा सञ्चालकहरुले दोसल्ला ओढाएर र प्रदानपत्र प्रदान गरेर सम्मान गरिएको थियो । २३ वर्षअघि २९ जनाको रु. सात लाख २५ हजार शेयर पुजिबाट शुरु भएको सहकारीमा हाल ७ वटा सेवाकेन्द्रमा छ हजार ४६३ जनाको रु. आठ करोड २३ लाख ३४ हजार ४०० सेयर रकम पुगेको संस्थाका अध्यक्ष अमृतलाल श्रेष्ठले जानकारी दिनुभयो । दरवाङ, मल्लाज, सिंगा तातोपानी, पोखरेबगर, बाबियाचौर र फलियागाउँमा सेवा केन्द्र रहेको सहकारीले बागलुङ, कुश्मा पोखराका सहकारीहरुसँग एकिकरण गरि कार्यक्षेत्र विस्तारको तयारी गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

कोषाध्यक्ष बमबहादुर पुनले गत वर्ष रु. ६९ करोड ९७ लाख ५० हजार ६६५ निक्षेप संकलन, रु. ७६ करोड ६० लाख छ हजार २२८ ऋण लगानी र रु. एक करोड २८ लाख ९९ हजार ३६५ मुनाफा आर्जन भएको जानकारी दिनुभयो । संस्थाको जगेडा कोषमा रु( दुई करोड ३९ लाख ३३ हजार ५७ रहेको छ । संस्थाका उपाध्यक्ष रामजीप्रसाद सुवेदीले सक्षम सदस्य, प्रतिस्पर्धी र उत्कृष्ट साकोस भन्ने लक्ष्य सहित अत्याधुनिक प्रबिधिको प्रयोग गरेर सेवा र कारोबार सञ्चालन गरेको बताउनुभयो ।

सचिव चन्द्रकुमार केसीले सामाजिक उत्तरदायित्व अन्तरगत आर्थिक वर्ष २०७८÷७९ मा म्याग्दी बहुमुखी क्याम्पसमा स्नातक अध्ययन गर्ने सोमबहादुर खत्रीलाई रु. १५ हजार पाँच सय र पवित्रा खत्रीलाई रु. २४ हजार ९०० छात्रवृत्ति प्रदान गरिएको जानकारी दिनुभयो । कार्यक्रममा लेखा तथा सुपरीवेक्षण समितिका संयोजक गोविन्दप्रसाद पौडेलले आफ्नो समितिको प्रतिवेदन पेश गर्नुभएको थियो । ७ वटा सेवा केन्द्रमा इकाईगतपछि पुष २३ गते बेनीको भाषा मंका खलको सभाहलमा साधारणसभा गरिने कार्यतालिका बनाइएको छ ।

पुष २१ गते दरवाङ, तातोपानी, बाबियाचौर र धौलागिरी तथा २२ गते मल्लाज सेवा केन्द्रको इकाई साधारणसभा गरिने संस्थाका प्रबन्धक बसन्त श्रेष्ठले बताउनुभयो । साधारणसभामा म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष दिपेन्द्रकुमार श्रेष्ठले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । बेनी सेवा केन्द्र अन्तरगत उत्कृष्ट बचतमा साधना भण्डारी, सुर्यबहादुर तिलिजा, ऋणतर्फ सिता शर्मा सुवेदी र सुर्यबहादुर थापामगरलाई पुरस्कृत गरिएको छ । यसैगरी रेमिटेन्सतर्फ हिमला पाइजा थापा, राधिका उपाध्याय आचार्यलाई पुरस्कार र सम्मानपत्र प्रदान गरिएको थियो ।