वडा अध्यक्ष केसीद्वारा जन्मदिनमा जेष्ठ नागरिकलाई लठ्ठी उपहार

  • १९ पुष २०७९, मंगलवार
  • 489 पटक पढिएको

बेनी, १९ पुष । बेनी नगरपालिका–९ घतानका वडा अध्यक्ष चक्र केसीले मंगलबार आफ्नो जन्मदिनको अवसरमा जेष्ठ नागरिकलाई लठ्ठी वितरण गर्नुभएको छ ।

जन्मदिनको अवसर पारेर केसीले बेनी नगरपालिका ९ का ५० जना जेष्ठ नागरिकहरुलाई लठ्ठी वितरण गर्नुभएको हो । कतिपय ठाउँमा आफै पुगेर र केही ठाउँमा अरु मार्फत जेष्ठ नागरिकहरुलाई एक/एक थान लठ्ठी वितरण गर्नुभएको हो । जेष्ठ नागरिकलाई हिडडुल गर्न सहज होस भनेर लठ्ठी वितरण गरेको केसीले बताउनुभयो ।

उहाँले रचनात्मक काम गरेर जन्मदिन मनाउदै आउनुभएको छ । २०७४ मा राष्ट्रिय माविमा गरिव तथा जेहेन्दार छात्रवृत्ति स्थापना, २०७५ मा बेनीको बालगृहका अनाथ बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण, २०७६ मा मजदुरसँग सहभोग गरी समानताको सन्देश दिनुभएको थियो । २०७७ मा गलेश्वर आश्रमका जेष्ठ नागरिकहरुलाई भोजन र २०७८ मा घतान स्वास्थ्य चौकीमा स्वास्थ्य सामग्री वितरण गर्नुभएको थियो ।