म्याग्देली लेखक डा. मल्लद्धारा लिखित ‘सेतो धर्तिमा सप्तरंगी फूल’ र ‘रुइसे दरबार’ विमोचन

  • १७ पुष २०७९, आईतवार
  • 1087 पटक पढिएको

म्याग्दी १७ पुस । म्याग्देली लेखक डा. दलिपकुमार मल्लद्वारा लिखित ‘सेतो धर्तिमा सप्तरंगी फूल’ र ‘रुइसे दरबार’ दुई पुस्तक विमोचन गरिएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ कलेजाबाङ घर भई हाल काठमाण्डौमा बस्दै आउनुभएका मल्लद्धारा लिखित दुई पुस्तकको शनिबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाको प्रमुख आतित्थ्यतामा लोकापर्ण गरिएको हो ।
शिखा बुक्सका प्रबन्ध निर्देशक पुष्प पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा लेखक डा. दलिपकुमार मल्ल, गृह सचिव विनोद प्रकाश सिंह, पूर्वराजदुत तथा साहित्यकार प्रतिभा राना र समालोचक सुमन वर्षा र राजकुमार बाँनिया लगायतको विशिष्ट आतित्थ्यता रहेको थियो । ठकुरी कला संस्कृति प्रतिष्ठानले आयोजना गरेको उक्त कार्यक्रममा गृह सचिब विनोद प्रकाश सिंहले मन्तव्य राख्नुभएको थियो भने राजकुमार बानियाँ र सुमन बर्षाले समालोचना गर्नुभएको कार्यक्रमको सञ्चालन महेश क्षितिजले गर्नुभएको थियो ।

प्रकाशित पुस्तकमध्ये ‘सेतो धर्तीमा सप्तरंगी फूल’ द्वन्द्वले पारेको सामाजिक मनोवैज्ञानिक कथा संग्रह हो । यसले दशवर्षे शसस्त्र जनयुद्धको कथा र त्यसमा भएको सामाजिक पिडाहरुको यर्थाथ चित्रण गरिएको छ । यस्तै ‘रुइसे दरबार’ ऐतिहासिक सामाजिक उपन्यास हो । यसमा म्याग्दी राखूमा रहेर पनि ओझेलमा परेको इतिहास र त्यसको गरिमालाई उठान गरिएको छ । यो उपन्यासले चोधौ शताब्दीको एक सामाजिक कथाको चित्रण गरेको छ । यो क्षेत्रमा रुईसे दरबारबाट भुरे टाकुरे राजाहरुले आफ्नो क्षेत्राधिकार कायम गरि कसरी राज्य चलाएका थिए । राज्य चलाउँदा छिमेकी राज्यहरुसँगको सिमानाका समस्या र बढदो पर्वतराज्यको राज्यविस्तारले गर्दा राजनैतिक, कुटनैतिक सम्बन्ध छिमेकी राज्यसँग कसरी सम्बन्ध स्थापना गरिएको थियो । आफ्नो राज्य कायम राख्न हर राज्यका राजा र प्रजाहरुको कस्तो पारस्परिक सम्बन्ध हुनु पर्दछ यसको मिहिन रुपमा प्रस्तुत गरिएको उपन्यास हो । अझ झन तात्कालिक समयमा सती प्रथालाई कसरी बढवा दिइएको थियो । त्यो समयमा सती प्रथा विरुद्ध पनि आवाज नउठेका पनि होइनन् । महिलाले उठाएका आवाज र पुरुषप्रधान समाजले बढवा दिएको सतीप्रथाको कथाको चित्रण हो ।