रेलेखोला जलविद्युतको काम धमाधम, एक बर्षमै सकियाे पचास प्रतिशत काम (तस्बिर सहित)

गाउँमा पुग्यो सडक, स्थानीयले पाए रोजगार

  • १४ पुष २०७९, बिहीबार
  • कमल खत्री
  • 483 पटक पढिएको

कमल खत्री

बेनी १४ पुस । जलविद्युत गाउँको रुपमा परिचित म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत आयोजनाको निर्माण कार्यले गति लिएको छ । अन्नपूर्ण हिमालको फेदीबाट बग्ने रेलेखोलाको पानीलाई उपयोग गरि निर्माण गर्न लागिएको यस आयोजनाको निर्माण कार्य करिब ५० प्रतिशत पुरा भएको छ । हिमकन्सल्ट प्रा.लिले नदीको बहावमा आधारित रन अफ रिभर मोडलमा ‘पाईप प्रोजेक्ट’ मार्फत यस आयोजनालाई निर्माण गर्न लागेको हो ।


२०७३ देखि नारच्याङको बेसीदेखि लेकगाउँ हुँदै आयोजना निर्माण स्थलतर्फ पहुँचमार्ग निर्माण सुरु गरेको यस आयोजनाले गत बर्षको फागुनदेखि आयोजनाको निर्माण कार्यलाई सूरु गरेको थियो । अहिलेसम्म करिब पचास प्रतिशत भौतिक प्रगति सम्पन्न भएको र आगामी असारसम्ममा पूर्वाधार निर्माणको काम सक्ने लक्ष्य रहेको आयोजनाका इन्जिनियर आयुष भट्टराईले जानकारी दिनुभयो ।

‘‘आयोजनाको बाँध स्थल, पाईपलाईन र विद्युतगृहतर्फको काम तीव्र रुपमा अघि बढेको छ , दैनिक रुपमा १३० जना बढी मजदुर संगै आबश्यक मेसीन उपकरणहरु प्रयाप्त मात्रामा परिचालन भएका छन्, चिसो मौसमको प्रतिकुलताका बिच पनि निर्माण कार्यलाई तिव्रता दिएका छौँ’–इन्जिनियर भट्टराईले भन्नुभयो ।


कालोखोलामा बाँध रहेको यस आयोजनाको तीन हजार ६ सय मिटर लामो पाइप लाइन मार्फत पानी लगेर हरिस्वाँरामा रहने विद्युतगृहमा ५०५ मिटर हेडबाट पानी खसालेर विद्युत उत्पादन गरिनेछ । यस आयोजनामा पानी लैजानका लागि सुरुङमार्गको प्रयोग नगरि पेनस्टक पाइपको मात्रै प्रयोग गरिने भएको छ । यस आयोजनामा सिभिलतर्फ साकुरा पावर कन्स्ट्रक्सन कम्पनी, हाइडोमेकानिकलतर्फ वर्कसप अफ इन्जिनियरिङ र इलेक्टोमेकानिकलतर्फ फोलो भेल इनर्जि प्रा.लिले ठेक्का लिएका छन् । सिभिलतर्फ बाँधतर्फको पचास प्रतिशत बढी काम सकिएको र पाइपलाइन राख्नको लागि पाइप ढुवानी र पूर्वाधार निर्माणको काम भैरहेको आयोजनाका आवासिय इन्जिनियर लोकबहादुर नायकले बताउनुभयो । उहाँका अनुसार, लेकगाउँदेखि विद्युतगृह सम्मको पहुँचमार्ग निर्माण भैसकेर पूर्वाधार निर्माण समेत थालिएको छ । अहिले बाँध स्थलमा इन्टेक, डिसेन्डर र हेडवक्र्सको काम जारी छ । यस आयोजना निर्माणमा प्रतिमेगावाट रु २० करोड लागत अनुमान गरिएको छ । हिमालय बैङ्कको अगुवाइमा राष्ट्रिय वाणिज्य बैङ्कले समेत गरि ७० प्रतिशत ऋण लगानी गर्ने सम्झौता भएको छ । यस आयोजनाबाट उत्पादन हुने विद्युत्लाई ४ किलोमिटर लामो ३३ केभी क्षमताको प्रशारण लाइन निर्माण गरि कालीगण्डकी कोरीडोर प्रसारण लाईनको दाना सब स्टेशन मार्फत राष्ट्रिय प्रशारणमा जोडिनेछ । हाइड्रो भिलेजको नामले परिचित नारच्याङमा यस अघि ५ मेगावाटको घलेम्दी खोलार ४२ मेगावाटको मिस्ट्रीखोला जलविद्युत आयोजना निर्माण सम्पन्न भैसकेका छन् । विद्युत् उत्पादनका लागि दर्जनबढी आयोजनाहरु दर्ता भएको यस वडामा निलगिरी हाइड्रो पावरले निर्माण गर्न लागेको एक सय १० मेगावाट क्षमताको निलगिरी पहिलो र निलगिरी क्यासकेड गरि दुई वटा आयोजनामा समेत निर्माण कार्यले तिब्रता पाएको छ ।
                               गाउँमा सडक पुग्यो, स्थानीयले रोजगार पाए
रेलेखोजा जलविद्युत आयोजनाको कारण नारच्याङको लेकगाउँमा सडक सञ्जालको पहुँच पुगेको छ । लेकगाउँमा मात्रै १२० घरधुरीको बसोबास रहेको छ । वेसीगाउँदेखि लेकगाउँतर्फ सडकको पहुँच पु¥याउन स्थानीयबासीले चन्दा संकलन गरेर प्रयास गरेपनि अक्करे भीरको कारण ठूलो लगानीको अभाबमा रोकिएको सडकलाई रेलेखोला जलविद्युत आयोजनाले पूर्णता दिएको वडा सदस्य श्याम पुर्जाले जानकारी दिनुभयो । वेसीगाउँदेखि लेकगाउँ जाने बाटोमा रहेको अक्करे भीरमा मात्रै ११ वटा घुम्ती हुँदै सडक विस्तार गरेर लेकगाउँ पु¥याईएको छ । यस भीरमा मात्रै सडक निर्माण गर्न ३ बर्ष बढी समय लागेको थियो । यस आयोजनाले वेसीबाट लेकगाउँसम्मको ५ किलोमिटर सडक निर्माण गरेपछि मात्रै गाउँमा यातायातको पहुँच पुगेको हो । आयोजनाको पहुँचमार्गका लागि कुल १८ किलोमिटर सडकको ट्याक निर्माण भएको छ । यस आयोजनाले स्थानीयबासीलाई दक्षता र क्षमता अनुसारको रोजगारको अवसर समेत दिएको छ । सडक निर्माण, स्तरोन्नती, पाइपलाइनको पूर्वाधार निर्माण लगायतका क्षेत्रमा स्थानीयबासीले नै नेतृत्व लिएर काम गरिरहेको आयोजनाका इन्जिनियर भट्टराईले बताउनुभयो । ‘‘ हामीले रोजगारको क्षेत्रमा पनि स्थानीयबासीलाई प्राथमिकता दिएका छौँ, स्थानीय युवा क्लब, विद्यालय र आमा समूहहरुका सामाजिक गतिविधिमा समेत सहकार्य गरेका छौँ’’–इन्जिनियर भट्टराईले भन्नुभयो । आयोजनाले स्थानीय काजिभुमे थान निर्माण, क्रान्ति आधारभुत विद्यालयको छानो फेर्न आर्थिक सहयोग संगै गाउँभित्र सडकको पहुँच विस्तार गर्ने लगायतका कार्यहरु समेत गरेको छ ।             

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l