बेगखोलामा पक्की पुल निर्माणको काम तिब्र

  • १४ पुष २०७९, बिहीबार
  • 524 पटक पढिएको

बेनी, १४ पुस : बेनी–जोमसोम–कोरला सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगखोलामा मोटरेबल पुल निर्माणको कामले तिव्रता पाएको छ । सडक विभाग मार्फत योजनाको ठेक्का लिएका निर्माण व्यवसायीले निर्धारित समय भन्दा अगावै योजना सम्पन्न गर्नेगरी निर्माण कार्यलाई गति दिएका हुन् । बेगखोलामा आएको बाढीले बेलिब्रिज बगाएपछि विगत ६ वर्षदेखि बेगखोलामा यात्रु र सर्वसाधारणले सास्ती भोग्दै आएका छन् ।
राष्ट्रिय गौरबको आयोजना कालिगण्डकी कोरिडोर बेनी–जोमसोम कोरला सडक अन्तर्गत पर्ने बेगखोखोलामा सडक विभाग अन्तर्गत रहेको पुल महाशाखा काठमाण्डौले ७० मिटर लामो र ११ मिटर चौढाई भएको डबल स्पामको पुल निर्माणका लागि योजना अघि बढाएको हो । विभागसंग बीओकेआई–हिमालयन जेभीलेसँग भ्याटसहित ८ करोड ३० लाख रुपैयाँमा २०७८ असार २९ गते ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौता लगत्तै ठेकेदार कम्पनी कार्यक्षेत्रमा खटिएर निर्माणमा जुटेको थियो ।
पुल निर्माणका लागि सम्झौता गरेको निर्माण कम्पनीले उल्लेख्य मात्रामा मजदुर र उपकरण परिचालन गरेर निर्माण कार्यलाई तिव्रता दिएको छ । योजनाको अनुगमन र सुपरिवेक्षणको जिम्मा पाएको पुल सेक्टर पोखराका इन्जिनियर आशीक रिजालले तोकिएको समयभित्र पुल निर्माण सम्पन्न गर्न कार्यालयका तर्फबाट नियमित रुपमा निर्माण कम्पनीलाई ताकेता गरिएको बताउनुभयो ।
निर्माण कम्पनिले उपकरण सहित मजदुर जुटाएर पुल निर्माणलाई गति दिएका पाईएको उहाँले बताउनुभयो । वर्षातका समयमा बेगखोलामा पुल नहुँदा सर्वसाधरणहरुले निकै सास्ती र दुःख भोगेका कारण पुल समयमै सम्पन्न गर्न कार्यालयले प्राथमिकताका साथ काम गरेको उहाँको भनाई छ ।
अहिलेसम्म करिब ४५ प्रतिशत भौतिक प्रगति भएको छ । पुलको जग बसाल्ने,वारीपारीका दुईवटा र बीचको गरी तिनवटा पिल्लर उठाइसकिएको इन्जिनियर रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार अवको एकहप्ता भित्र पिल्लरमाथि क्याब निर्माण गरिनेछ । चालु आर्थिक वर्षभित्रै पुलको मुख्य संरचना निर्माण सक्नेगरी काम अगाडि बढाइएको इन्जिनियर रिजालले जानकारी दिनुभयो ।

आगमी २०८० चैत २८ गतेभित्र योजना सम्पन्न सम्झौतामा उल्लेख गरिएपनि बेगखोलामा वर्षातका समयमा सवारीसाधन वारपार गर्न निकै दुःख र सास्ती भोग्नुपरेकाले छिटो पुल निर्माण गर्न कार्यालय जुटेको जनाइएको छ । २०७३ भदौ १७ गतेको बाढीले बेगखोलामा रहेमो बेलिव्रिज र झोलुङ्गे पुल सहित बस्तीनै बाढीले बगाएको थियो । खोलामा पक्की पुल नहुँदा म्याग्दीको उत्तरी भेगका स्थानीय र मुस्ताङको भ्रमणमा आउने पर्यटक,तिर्थयात्री र सर्वसाधारणहरुले वर्षातका समयमा आउने बाढीका कारण विगत ६ वर्ष देखिे सास्ती भोग्दै आएका छन् ।