मिडिया सोसाईटी अवार्ड पत्रकार गौतमलाई प्रदान

  • १३ पुष २०७९, बुधबार
  • 587 पटक पढिएको

म्याग्दी १३ पुस । म्याग्दी मिडिया सोसाईटीले प्रदान गर्ने ‘मिडिया सोसाइटी अवार्ड–२०७९’ बाट म्याग्दीमा क्रियाशिल पत्रकार सन्तोष गौतम सम्मानित हुनुभएको छ । म्याग्दी मिडिया सोसाइटीको छैठौ वार्षिक साधारणसभाको अवसरमा अन्नपूर्ण गाउँपालिका–४ स्थित पर्यटकीय स्थल नारच्याङ झरना परिसरमा बुधबार आयोजित समारोहमा आठ हजार ८०० नगद रुपैयाँ सहित गौतमलाई पुरस्कृत गरिएको हो ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेल, संस्थाका अध्यक्ष कमल खत्री, संस्थापक अध्यक्ष गोपाल छन्त्याल, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेल, अन्नपूर्ण–४ का वडा अध्यक्ष लोकबहादुर फगामीले गौतमलाई दोसल्ला ओडाउँदै नगद  र सम्मानपत्रद्धारा सम्मान गर्नुभएको थियो ।

नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका सचिव समेत रहनुभएका गौतम विगत साढे १ दशकदेखि पत्रकारितामा क्रिायशिल हुनुहुन्छ । वि.स. २०७४ मा म्याग्दीमा सञ्चालित स्वरोजगारमुलक सञ्चार माध्यमका सञ्चालकहरु आवद्ध सोसाइटीले वि.स. २०७५ देखि वर्षमा एक जना पत्रकारलाई पुरस्कृत गर्दै आएको सचिब अमित विश्वकर्माले जानकारी दिनुभयो ।
सोसाईटीले स्थापना गरेको रु दुई लाख पाँच हजारको अक्षयकोषको ब्याजबाट जिल्लामा एक दशकबढी समयदेखि सञ्चार क्षेत्रमा सक्रिय संस्थाका सदस्य पत्रकारलाई पुरस्कृत गर्ने मापदण्ड बनाएको छ । सो पुरस्कारबाट यसअघि ठाकुरप्रसाद आचार्य, अमित विश्वकर्मा, प्रताप बानिया र हरिकृष्ण गौतम सम्मानित भैसक्नुभएको छ । सम्मानित गौतम म्याग्दीमा रिखार दैनिक र धौलागिरिखवर डटकमका प्रकाशक तथा सञ्चालक हुनुहुन्छ भने रासस, अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिक, ग्यालेक्सी फोके टेलिभिजन लगायतका सञ्चार माध्ययममा आबद्ध हुनुहुन्छ ।