बेनी नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड पुष १७ देखि 

  • १२ पुष २०७९, मंगलवार
  • 473 पटक पढिएको

 

बेनी, १२ पुष । बेनी नगरपालिका अन्तर विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७९ यही पुष १७ देखि १९ गतेसम्म सञ्चालन हुने भएको छ ।

बेनी नगरपालिकाले मंगलबार पत्रकार सम्मेलन आयोजना गरेर कक्षा १२ सम्म अध्ययन गर्ने १८ वर्ष भन्दा कम उमेरका विद्यार्थीहरु सहभागि हुने प्रतियोगिताको तयारी तिब्र पारिएको जनाएको छ ।

नगर प्रमुख सुरत केसीले जनप्रनिधिहरुको संयोजकत्वमा कर्मचारी र सम्बन्धित खेलकुद संघका पदाधीकारीको सहभागितामा छुट्टा छुट्टै समिति बनाएर प्रतियोगिताको तयारी गरिएको जानकारी दिनुभयो ।

छात्र र छात्रा भलिबल, कवड्डी, एथलेटिक्स र मार्सल आट्स बिधाका ४८ वटा पदकका लागि प्रतिस्पर्धा हुने र एक वटा खेल सञ्चालनका लागि कम्तिमा पाँच वटा विद्यालय सहभागि हुनुपर्ने नियम बनाइएको नगर प्रमुख केसीले बताउनुभयो । वाइट

खेलकुदलाई शिक्षासँग जोडेर पढाई र परिक्षा प्रभावित नहुने गरी प्रतियोगिता सञ्चालन गर्न लागिएको नगरपालिकाले जनाएको छ । कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा, रमेशकुमार श्रेष्ठ, उत्तम कर्माचार्य र चक्र केसीको संयोजकत्वमा खेल सञ्चालन उपसमिति बनाइएको छ ।

खुल्ला मञ्चमा एथलेटिक्स, न्यु वेष्ट पोइन्ट आवासीय माविको खेलमैदानमा भलिबल, कवर्डहलमा मार्सल आट्स खेलाउने तय भएको छ । कवड्डी कवर्डहल अथवा बेनी सामुदायिक मध्य एक ठाउँमा खेलाइने भएको छ ।

नगरपालिकामा रहेका १५ वटा सामुदायिक, १० वटा निजी मावि, म्याग्दी बहुमुखी क्याम्पस र बालमन्दिर आधारभूत विद्यालय सहभागि हुने अनुमान गरिएको छ । प्रतियोगिता सञ्चालन र जिल्ला स्तरीय प्रतियोगितामा भाग लिनका लागि नगरपालिकाले गौरवको कार्यक्रमको रुपमा रु. १२ लाख बजेट बिनियोजन गरेको नगर उपप्रमुख ज्योती लामिछानेले बताउनुभयो ।

यसअघिको प्रतियोगितामा प्रथम, दृतीय र तृतीय हुने विद्यालयलाई रु. पचास हजार, पैतिस हजार र २५ हजार पुरस्कार उपलब्ध गराएको नगरपालिकाले बुधबारको कार्यपालिका बैठकबाट अघिल्लो प्रतियोगिताको भन्दा बढी हुने गरि पुरस्कार रकम तोक्ने जनाएको छ । पदक जित्ने विद्यालयलाई शिल्ड, खेलाडीलाई मेडल र प्रमाणपत्र सहित नगद पुरस्कारका साथै सहभागि हुने विद्यालयलाई पनि आर्थिक सहयोग गरिने नगरपालिकाले जनाएको छ । नगर स्तरीय प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीले जिल्ला स्तरीय प्रतियोगिता खेल्ने अवसर पाउनेछन् ।