तातोपानी कुण्ड जान कालीगण्डकीमा अस्थायी काठेपुलको भर

  • ८ पुष २०७९, शुक्रबार
  • 691 पटक पढिएको

बेनी, ८ पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारको कालीगण्डकी नदी किनारमा रहेको तातोपानी कुण्डमा जाने पर्यटक र उपचारका लागि जाने विरामीहरुले कालीगण्डकी नदीमा अस्थायी काठेपुलको प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । अन्नपूर्ण गाउँपालिका–२ भुरुङतातोपानीबाट पाउद्धार तातोपानी कुण्ड जानका लागि झोलुङ्गे पुलको अभाब भएपछि कालीगण्डकी नदी वारपार गर्न स्थानीय प्रवधिको प्रयोग गरेर काठेपुल निर्माण गरिएको हो ।


हिउदका ६ महिना मात्र प्रयोगमा आउने गरि कुण्डका व्यवस्थापक समेत रहनुभएका स्थानीय युवा कुमार तिलिजाले रु एकलाख बराबरको लगानीमा उक्त अस्थायी काठे पुल निर्माण गर्नुभएको हो । पुल नहुँदा नारच्याङ पुगेर करिब एक घण्टाको घुमाउरो बाटो हिड्नुपर्ने बाध्यता हटाउन कालीगण्डकीमा अस्थायी पुल निर्माण गरिएको तिलिजाले बताउनुभयो ।

‘‘ यस कुण्डमा नियमित रुपमा स्नान गर्ने विरामी र पर्यटकहरु समेत आउने गर्छन, तर बाटो घुमाउरो हुँदा आवत जावतमा झण्झट भएकाले हिउँदयामको लागि मात्रै भएपनि अस्थायी साँघु बनाएका हौँ’’–उहाँले भन्नुभयो । पुल बनाउन काठका फ्ल्याक,बाँस र ग्यावियन झाली प्रयोग गरिएको छ । वारपार गर्दा सुरक्षाका लागि पुलको दायावाया काठकै रेलिङ हालिएको छ । पक्की झोलुङ्गे पुल नहुँदा वर्षेनी यहाँका स्थानीयले हिउँदयामका लागि मात्रै अस्थायी रुपमा काठको पुल बनाउने गर्दछन् ।

कालिगण्डकी नदीमा पुल नहुँदा कुण्डमा स्नान गर्न आउने पर्यटक र विरामीहरु नारच्याङको पुल तरेर घुमाउरो बाटो प्रयोग गरेर आउनुपर्ने भएकाले केही महिनाका लागि भएपनि यस पुलले राहत भएको स्थानीयबासीको भनाई छ । अस्थायी काठे साँघु बनेसँगै कुण्डमा स्नान गर्न आउने विरामी अवस्थाका वृद्धवृद्धाहरु र पर्यटकलाई निकै सहज भएको छ ।

पुल बनाउने खर्च गाउँपालिकाले दिने आश्वासन दिएपनि अहिलेसम्म रकम नपाएको तिजिलाको भनाई छ । कुण्डको व्यवस्थापनको जिम्मा समेत लिनुभएका तिलिजाले पुल बनाइदिएपछि ४५ मिनेटको बाटो छोटिएर ५ मिनेटमै कुण्डमा पुग्न सकिने सुविधा भएको कुण्डमा नियमित रुपमा स्नान गर्र्दै आउनुभएकी राममदेवी पुनले बताउनुभयो । यता पूर्वाधार विकास कार्यालय म्याग्दीले उक्त स्थानमा पुल बनाउनका लागि योजना छनौट भएको र कार्यान्वयनको चरणमा रहेको जनाएको छ ।