खुल्लामञ्चको थप प्याराफिट निर्माण सुरु

  • ५ पुष २०७९, मंगलवार
  • धिरन खत्री
  • 503 पटक पढिएको

 

बेनी, २ पुस ।सदरमुकाम बेनीस्थित रहेको खुल्लामञ्चको प्याराफिट विस्तार काम सुरु भएको छ। बेनी नगरपालिकाले थप प्याराफिट निर्माणका लागि चालु आर्थिक वर्षमा रु ५० लाख रुपैया बजेट विनियोजितबाट काम सुरु भएको हो ।

म्याग्दी नदीतिरको प्याराफिटलाई पूर्णता दिन सुरु गरिएको प्याराफिट निर्माणको शिलन्यास बेनी नगरपालिकाका प्रवक्ता एवम् वडानम्वर ७ वडाअध्यक्ष रमेशकुमार श्रेष्ठले शिलन्यास गर्नुभएको हो । ३५ मिटर लम्वाई भएको चार तहको प्यारफिट निर्माणको उत्तरगंगा निर्माण सेवाले ३५ लाख ९३ हजार १०१ रुपैयामा ठेक्का सम्झौता गरेर निर्माण कार्यलाई तिव्रता दिएको छ । चैतमसान्तसम्म प्याराफिट निर्माण सम्पन्न गर्ने सम्झौता रहेको छ।

यस आर्थिक बर्षबाट विनियोजित बजेटबाट निर्माणको कार्य भइरहेको मेयर सुरत केसीले बताउनुभयो । उहाँले पुस २७ गतेदेखि सुरु हुने महोत्सव पुर्वनै प्याराफिट निर्माण र कालीगण्डकी नदीतर्फको स्तरोन्नतीको कामलाई ग्राउण्डको लेभलसम्म ल्याउने योजनासहित निर्माण कम्पनीले काम भइरहेको भन्नुभयो । ‘गण्डकी प्रदेशले विनियोजित ८ लाख बजेटबाट कालीगण्डकी किनारतर्फ पर्खाललाई पुर्णता दिएर ग्राउण्ड लेभलमा ल्याउने काम भईरहेको छ ।’ प्याराफिट र अधुरो पर्खाल निर्माणलाई पूर्णता दिन हिउँदे अधिवेशनबाट थप बजेट विनियोजन गरेर काम गर्ने नगरको योजना रहेको मेयर केसीले बताउनुभएको छ।


जिल्लामा फराकिलो, प्याराफिटसहितको गुणस्तर रंगशाला बनाउने योजनासहित जिल्ला खेलकुद विकास समितिले २०७४ सालमा डिपिआरसहित ९ करोडको लागत अनुमान सार्वजनिक गरेको थियो । कालीगण्डकी र म्याग्दी नदीमा पक्की पर्खाल र पुरानो भन्दा फराकिलो ११÷११ जना फुटबल खेल्न मिल्ने योजनासहित ९६ मिटर लम्वाई र ४५ मिटर चौडाई भएको मिनी स्टेडियम बनाउने डिपिआरमा छ । हालसम्म साढे ३ करोड भन्दा बढी लगानी भएको खुल्लामञ्चमा म्याग्दी नदीतिरको पुर्वाधार निर्माण अन्तिम चरणमा पुगेको छ। कोरोना प्रश्चात दुईवटा आर्थिक बर्षमा बजेट विनियोजन नहुदाँ अलपत्र अवस्थामा खेलमैदान रहेको थियो । खुल्लामञ्च जिल्लाकै सबैभन्दा ठुलो खेलमैदान मात्र नभएर ब्यापारिक मेला महोत्सव, साँस्कृतिक कार्यक्रम र राजनीतिक सभा हुदै आएको छ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l