सिम–सातबिसे झोलुङ्गे पुल निर्माण, यात्रा अवधि छोटियो
- २८ मंसिर २०७९, बुधबार
- 737 पटक पढिएको
बेनी, २८ मंसिर । म्याग्दीको मंगला गाउँपालिका–२ सिम र वडा नम्बर ३ सातबिसे जोड्ने झोलुङ्गे पुल निर्माण भएको छ । म्याग्दी नदीमा वारपारका लागि पुल नहुँदा घुमाउरोबाटोबाट वारपार गर्न करिब १ घण्टा लाग्ने बाटो पुल निर्माण भएसंगै पाँच मिनेटमै छोटिएको छ ।
पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्का मार्फत उक्त ११० मिटर पुल निर्माण गरेको हो ।
निर्माण व्यवसायिले निर्धारित समयभन्दा पनि अगाबै पुलको निर्माण कार्य सम्पन्न गरेको कार्यालयका प्रमुख गुरुदक्त अधिकारीले बताउनुभयो । २०७८ फागुन २ गते सम्झौता गरेको जुम्ली निर्माण सेवाले गत असोजभित्रै पुलको अधिकाँश काम सम्पन्न गरेको र बाँकी काम समेत सम्पन्न गरिसकेको कार्यालयले जनाएको छ ।
सस्पेन्सन प्रविधिको प्रयोग गरि टावर निर्माण गरि उक्त पुल निर्माण भएको छ । पुल निर्माणमा सामान बाहेक रु ३७ लाख ३४ हजारमा ठेक्का सम्झौता भएको थियो । पुल निर्माणको आबश्यक सामाग्री भने झोलुङ्गे पुल शाखाले उपलब्ध गराएको हो । पुल निर्माण भएपछि म्याग्दी नदीको वारी र पारीका बस्तीहरुका नागरिकलाई वारपारमा सहज भएको सिमका स्थानीय अगुवा धु्रव केसीले बताउनुभयो ।
सिमबाट पर्यटकीय स्थल टोड्के र झाँक्रेपानी जोड्ने पदमार्ग समेत रहेकाले पुल निर्माण भएसंगै पर्यटकहरुलाई समेत आवत जावत गर्न सहज हुने केसीको भनाई छ । सिम र सातबिसेका स्थानीयबासीले यस अघि ताराखेत र पखेरको पुल प्रयोग गरि घुमाउरोबाटोबाट वारपार गर्दै आएका थिए । पुल निर्माणका लागि सिमतर्फ ध्रुव केसी र सातविसेतर्फ स्थनीय खगेन्द्र पुनको परिवारले २÷२ रोपनी जग्गा निःशूल्क उपलब्ध गराउनुभएको छ ।